ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका समाचार प्रमुख विक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु भएको छ । सदरमुकाम फुङ्लिङ स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई अभ्यास पुस्तिका, सिसा कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नू भएको हो ।
विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई सामग्री प्रदान गर्नु भएको छ । जन्मदिनको अवसरमा पार्टी प्यालेस लगायतका क्षेत्रमा हुने फजुल खर्चलाई कटाएर फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको पत्रकार लामगादेले बताउनुभयो । उहाँले गत वर्ष समेत सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको थियो ।
आफ्नो सानो सहयोगबाट विद्यार्थीको मुहारमा देखिएको खुशीले जन्मदिनलाई विशेष बनाएको अनुभुति भएकाले यस वर्ष पनि शैक्षिक सामाग्री प्रदान गरिएको उहाँको भनाइ छ । जन्मदिनको अवसरमा आफ्ना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएका पत्रकार लामगादेलाई विद्यालयले सम्मान समेत गरेको छ । लामो समय अगाडिदेखि सामाजिक कार्यमा रुचि राख्दै आउनु भएका लामगादेले उपचाररत बिरामी, अग्निपीडित लगायतलाई आर्थिक रकम जुटाउने कार्यमा समेत अग्रसर हुँदै आउनु भएको छ ।
बिहीबार माघे सक्रान्तिको अवसरमा सार्वजनिक बिदा परेकाले बुधबार नै विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया