‘इतिहासकै संघिन कसिमा ताप्लेजुङ्’



दिनेश लिङ्खिम (युके)

२०७४ सालको निर्वाचनपछि छानिएका जनप्रतिनिधि, चुनावी हर्कत र दलहरूको असली स्वभावलाई नियाल्दै तोक्मे डाँडाको एउटा कफी हाउसमा उहाँ र म सँगै कफीको चुस्कीमा एक अनुभवी (नेपाली समाज र माटो बुझेका) इन्जिनियरले भनेका थिए ।

“अब पुराना नेता र दलको ओरालो यात्रा समयको नियम होइन, आफ्नै कुकर्मको नियति हो।”
त्यो भनाइमा कुनै आवेग थिएन।
त्यो पुलको भार गणना गर्न जान्ने, नदीको बहाव पढ्न सक्ने, संरचना टिक्छ कि भत्किन्छ भन्ने आँकलन गर्न सक्ने मानिसको चेतावनी थियो।
आज फर्केर हेर्दा लाग्छ।
त्यो चेतावनी सामान्य रहेनछ, आज संरचना मात्र होइन, राजनीतिक विश्वास पनि चर्किएको छ।
म त्यही देशको नागरिक हुँ,
जहाँ गरिखाने बाटाहरू योजनाबद्ध रूपमा बन्द गरिन्छन्।
जहाँ युवालाई “देशमै केही गर” भनिन्छ, तर स्वाभिमानको बाटो रोज्दा हदैसम्मका हन्डर खान बाध्य पारिन्छ।
जहाँ इमानदारी जोखिम हो,
र कुकर्म सुरक्षित लगानी।
यहाँ अपराधलाई आदर्श बनाइन्छ।
नागरिकको रगत–पसिनामाथि बुर्कुसी खेल्नेहरू चिल्लाचाप्ला बन्छन्।
सेतालाई कालो बनाउन माहिर, छलकपटमा दक्ष र अपराधीका पिछलग्गुहरूलाई नेता मानिदिनुपर्ने बाध्यता सिर्जना गरिएको छ।

अझ खतरनाक कुरा के हो भने,
भ्रष्टाचार, बेथिति र कुशासनलाई गलत भन्नेहरू नै “गलत” सावित गरिन्छन्।
सच्चा देशभक्तहरूलाई चरित्रहत्या गरेर पाखा लगाइन्छ।
र नागरिकलाई प्रश्न गर्नै नदिने वातावरण बनाइन्छ।
किनकि प्रश्न उठेपछि हिसाब देखाउनुपर्छ।
र हिसाब फर्छ्यौट गर्न नसक्नेहरूलाई प्रश्न नै सबैभन्दा ठूलो शत्रु बन्ने रहेछ। तथापि लोकतान्त्रिक मुलुकमा, प्रश्न सुनलाई निखारता ल्याउने ताप मानिन्छ।
हो, उनीहरूसँग मुलुक लुटेको पैसा छ।
हो, उनीहरूसँग सत्ता, सुरक्षा र सञ्जाल छ।
तर इतिहास साक्षी छ।
छानबिन हुने दिन निश्चित हुन्छ।
आय स्रोत बिनाका सुकुलगुन्डे नेताहरूको त्यो दिन सम्झनुस् ।
जब प्रश्न उठ्नेछ :
“यो सम्पत्ति कहाँबाट आयो ?”
त्यो दिन केवल व्यक्ति होइन,
पूरै राजनीतिक संस्कारको पर्दाफास हुनेछ।
आज एउटा कुरा स्पष्ट बुझ्नुपर्ने समय आएको छ ।
“यो देश बने मात्र म बन्छु।”
म मात्र बनेर, मेरो घर मात्र बनेर, मेरो गोजी मात्र भरिएर मुलुक बन्दैन।
सम्पूर्ण समाज नबनेसम्म कुनै व्यक्तिको भविष्य सुरक्षित हुँदैन।
अब कुरा गरौँ ताप्लेजुङको।
ताप्लेजुङ मुलुककै तेस्रो ठूलो जिल्ला हो।
हिमाल, नदी, जंगल, उर्वर भुमी र संस्कृतिले भरिएको जिल्ला।
तर विडम्बना !
यो जिल्ला नीतिनिर्माताको आँखामा कहिल्यै प्राथमिकतामा परेन।
किन ?
किनकि यहाँबाट बुझ्ने नेता गएनन्।
दशकौँसम्म हामीले के पायौँरु
खदा, माला, अगिपछि, फोटोसेसन !
र कार्यकाल सकाएर फर्किने प्रतिनिधि।
न दीर्घकालीन सोच,
न संरचनागत योजना,
न भविष्यको भार आँकलन गर्ने क्षमता।
आज एउटा आधारभूत प्रश्न सोध्नैपर्छ ।
विकसित मुलुकमा सय वर्षअघि बनाइएका संरचनाहरू किन आज पनि टिकाउ छन्, तर नेपालमा दस वर्षअघि बनेको सडक किन आजै भत्काउनुपर्छ ?
किन एउटै सडक एकै वर्षमा पटक–पटक खनिन्छ ?
किन योजना बनाउँदा भविष्यको जनसंख्या, प्रविधि र आवश्यकता आँकलन गरिँदैन ?
किन निर्माणमा गुणस्तरभन्दा कमिसन निर्णायक हुन्छ ?
यी प्रश्न राजनीतिक मात्र होइनन्,
यी प्राविधिक पनि हुन्।
यहाँ नेतृत्वमा योजना बुझेका होइन,
सौदा गर्न जान्नेहरू पुगे।
यही कारणले शिक्षा कमजोर भयो,
स्वास्थ्य उपचार सेवा लथालिङ्ग भयो,
रोजगारीको अभावले युवालाई मलेसिया, कतार, दुबई धकेल्यो।
कोरिया–जापान जान नपाउनेले आफ्नै भाग्यलाई धिक्कार्नुपर्‍यो।
तर ताप्लेजुङले एउटा कुरा पनि देखेको छ ।
राजनीतिक भाषणभन्दा टाढा बसेर,
सत्ताको हल्लाभन्दा पर रहेर,
काममार्फत जिल्लासँग गाँसिएको एउटा पात्र।
निरन्तर जलविद्युतको कुरा गर्ने,
नदीलाई केवल स्रोत होइन, भविष्यको आधार ठान्ने,
ताप्लेजुङलाई अन्धकारबाट उज्यालोतर्फ लैजान विद्युतीकरणमा जीवन खर्चिएको,
र जिल्लाको पीडा, सौन्दर्य र संघर्षलाई संगीतका स्वरमा पनि बाँध्न सक्ने व्यक्तित्व।
उहाँले ताप्लेजुङलाई भाषणमा होइन,
प्रोजेक्टमा बोक्नुभयो।
उहाँले विकासलाई नारामा होइन,
लाइन, ट्रान्सफर्मर र मेगावाटमा अनुवाद गर्नुभयो।
उहाँले जिल्लालाई सम्झँदा चुनावी मौसम कुर्नु परेन ।
निरन्तरता उहाँको पहिचान बन्यो।
यही कारण आज एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
जब जिल्लाको भार बुझ्ने,
संरचना बुझ्ने,
स्रोत र सम्भावना जोड्न सक्ने व्यक्ति छ,
तब किन फेरि अनुभवरहित भाषणबाज खोज्ने ?
अब ताप्लेजुङवासीका काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ।
हाम्रो जिल्लाको निर्माणका प्रत्येक पाइलाको नक्सा कोर्न सक्ने,
बुझेको, जानेको, अनुभवी र सक्षम व्यक्तिलाई प्रतिनिधिसभामा पठाउनुपर्ने समय आएको छ।
यो कुनै व्यक्ति पूजा होइन।
यो जिम्मेवारी हस्तान्तरण हो।
अब चुनाव लोकप्रियताको प्रतियोगिता होइन,
क्षमता र विश्वसनीयताको छनोट हुनुपर्छ।
तोक्मे डाँडाको कफी हाउसमा भविष्यको कुरा गर्ने त्यो इन्जिनियरले भनेझैँ !
“संरचना नै कमजोर भए, त्यो माथि जति लिपपोत र रंग लगाएँ पनि भत्किन्छ नै।”
अब ताप्लेजुङले रंग होइन,
ढलान चाहन्छ।
नारा होइन,
नक्सा चाहन्छ।
प्रयोग होइन,
परीक्षित नेतृत्व चाहन्छ।
यो लेख कुनै दलको प्रचार होइन।
यो नागरिक विवेकको आह्वान हो।
अब मतदान गर्दा हेर्नुपर्छ ।
कसले जिल्लालाई कामले माया गर्‍यो ?
कसले निरन्तरता देखायो ?
कसले अपराधीको साथ छोड्यो ?
को सधैं सत्मार्गको पक्षमा सतिसाल झै उभिन्छ ?
कसले भविष्यको भार उठाउन सक्छ ?
यदि आज पनि हामीले पुरानै गल्ती दोहोर्यायौँ भने,
भोलि दोष दिने नैतिक अधिकार हामीसँग रहनेछैन।
परिवर्तन भाषणले होइन,
सक्षम व्यक्तिलाई जिम्मेवारी दिएर हुन्छ।
अब निर्णय ताप्लेजुङवासीको हातमा छ।
जय ताप्लेजुङ् ! जय देश ! जय मुकुम्लुङ !!

प्रकाशित मिति : 9:38 pm

‘इतिहासकै संघिन कसिमा ताप्लेजुङ्’

दिनेश लिङ्खिम (युके) २०७४ सालको निर्वाचनपछि छानिएका जनप्रतिनिधि, चुनावी हर्कत

प्रथम मानाभारा गोल्ड कप : सुरुङ्खिम र ढुङ्गेसाँघु सेमिफाईनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

प्रथम मानाभारा गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, पुस १६ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी

पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधि साथीभाइलाई 

ताप्लेजुङ, पुस १६ गते ।  दोस्रो संस्करणको स्वर्गीय पदमबहादुर गुरुङ

माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी