ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनु भएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनु भएको हो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ ।भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम समेत आइनपुगेको अधिकारीले जानकारी दिनुभयो । भालु केही आहारा नपाएर घर पालुवा जनावर चौपाया खान बस्तीमा आएको अनुमान स्थानीयको छ ।
भालु बस्तीमै भएकाले गाउँभरी त्रास फैलिएको छ । बस्तीका अन्य नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको अधिकारीको भनाइ छ ।






प्रतिक्रिया