ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई विभिन्न सङ्कायमा उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ । विभिन्न सङ्कायमा अध्ययनरत १२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सिरीजङ्घा गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा शिक्षा क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले परियोजना क्षेत्र भित्रका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको रिड नेपालका प्रबन्धक राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार शैक्षिक सत्र २०८२ मा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको छ । उक्त छात्रवृत्ति मार्फत १२ जना विद्यार्थीलाई पहिलो वर्षमा ५ लाख ८८ हजार रुपियाँ प्रदान गरिएको छ ।
जसमा तिन वर्षे प्राविधिक तर्फ फताङ्लुङ गाउँपालिका–५ पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत सरला लिम्बू, सिरीजङ्घा गाउँपालिका–६ लक्ष्मी माध्यमिक विद्यालय मामाखेका एश्र्वया लिम्बू, सिरीजङ्घा गाउँपालिका–८ मा रहेको कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनका लक्की भोटे र सिरीजङ्घा गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय खेवाङका लक्ष्मी प्रसाद सेन्चुरीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

त्यसैगरी दुई वर्षे विज्ञान सङ्काय तर्फ फक्ताङलुङ गाउँपालिका–६ सरस्वती च्यारीबुक लेलेपका आङछु डोल्मा शेर्पा र फक्ताङलुङ गाउँपालिका–३ सिँवा माध्यमिक विद्यालय लिङखिमका विक्रम लिम्बूलाई प्रदान गरिएको छ । दुई वर्षे शिक्षा तथा मानविकी व्यवस्थापन सङ्काय तर्फ फक्ताङ्लुङ गाउँपालिका–४ सेवालुङ माध्यमिक विद्यालय इखाबूका टेकहाङ लिम्बूलाई प्रदान गरिएको छ ।
सोही सङ्काय तर्फ फक्ताङलुङ गाउँपालिका–४ सुनदेवि माध्यमिक विद्यालय इखाबूका रिजन लिम्बू, फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिम माध्यमिक विद्यालय खेजिनिमका सोनिया लिम्बू, फक्ताङलुङ गाउँपालिका–२ आदर्श माध्यमिक विद्यालय खेजिनिमका शान्ति लिम्बू, फक्ताङलुङ गाउँपालिका–१ रविकला माध्यमिक विद्यालयका नुमा लिम्बू र फक्ताङलुङ गाउँपालिका–५ सरस्वती माध्यमिक विद्यालय तापेथोकका प्रकृति लिम्बूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको पहिलो आरोही जर्ज बैण्डको सम्झनामा स्थापना गरिएको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमलाई फक्ताङ्लुङ गाउँपालिका–१ सावादीन, २ खेजेनिम र ३ लिङ्खिममा पनि कार्यक्षेत्र विस्तार गरी छात्रवृत्ति वितरण गरेको छ । यसअघि फक्ताङ्लुङ–४ इखाबू, ६ लेलेप, ५ तापेथोक र ७ ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर आफ्नो गतिविधि गर्दैआएको थियो ।
उक्त छात्रवृत्तिबाट हालसम्म १०६ जना विद्यार्थीहरू लाभान्वित भइसकेका छन् । १३ वर्ष देखी उच्च शिक्षा छात्रवृत्ति निरन्तर वितरण गर्दै आएको रिड नेपालले हाल सम्म करिव ८८ लाख १२ हजार ५६ रुपियाँ बराबरको योगदान रकम स्थानीय विद्यार्थीहरूलाई उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया