ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ बनेको छ । समुद्र सतहदेखि चार हजार ३५० मिटर उचाइमा रहेको यो पोखरी पछिल्लो समय पर्यटकको रोजाइ बनेको हो ।
यो पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका फलैचाको सङ्गमस्थलमा पर्ने तिम्बुङ पोखरीलाई दुई जिल्लाको महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा लिइन्छ ।
पछिल्लो सयम यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यावसायी अमिर राई बताउनुहुन्छ । उहाँका अनुसार गएको वर्ष मात्र करिब तीन हजारको हाराहारीमा पर्यटक तिम्बुङ पोखरी आएका थिए । यस क्षेत्रमा आउने पर्यटक सङ्ख्याको डाटा भने विगत पाँच वर्षदेखि मात्र राख्न थालिएको राईको भनाइ छ ।
तथ्याङ्क राख्न सुरु गरिएको पहिलो वर्ष भने वार्षिक सात सय पर्यटक तिम्बुङ पोखरी पुगेको राईले बताउनुभयो । यहाँ ताप्लेजुङसँगै सिक्किम, सुनसरी, झापा, पाँचथर, तेह्रथुम, धनकुटाका पर्यटकहरू आउने गरेका छन् ।
विकट भौगोलिक स्थानमा रहेको तिम्बुङ पोखरीको लम्बाइ करिब ४०० मिटर र चौडाइ २०० मिटर भए पनि गहिराइ भने पत्ता लागेको छैन । विशेषगरी यो पोखरीको सिजन चैत महिनादेखि मङ्सिर महिनासम्मलाई मानिन्छ । यहाँ साउन महिनामा रङ्गिचङ्गी फूलहरू फुल्ने हुनाले अधिक मात्रामा सो समयमा पर्यटकहरू आउने गर्दछन् ।
यस क्षेत्रमा क्यान्जो, माइकोपिला, सुनाखरी जस्ता फूलहरू फुल्ने गर्दछन् । यसलाई जडीबुटीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यहाँ यार्सागुम्बा, पाँचऔंले, पदमचाल, कालो तथा सेतो बिखमा, कुड्की, पाखनवेद, बुढोओखती, चिराइतो जातका औषधी र कीटनाशक औषधीको रूपमा प्रयोग गर्न सकिने जडीबुटीहरु पाइने कालिखोलाका धनबहादुर लिम्बू बताउनुहुन्छ ।
अहिले तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले पोखरी जाने बाटोमा पर्यटकको सहजताका लागि ठाउँठाउँमा विश्राम स्थलहरू निर्माणको कार्य सुरु गरेको छ । यो वर्ष मात्र समितिले तीन वटा विश्राम स्थल निर्माण गरेको राईको भनाइ छ ।
तिम्बुङ पोखरीमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिएमा जिल्लाको आर्थिक क्षेत्रमा टेवा पुग्ने र पर्यटन व्यवसायीहरू फस्टाउने राईले बताउनुभयो । यहाँ अझै पर्यटकको सङ्ख्या वृद्धि गर्नका लागि कालिखोलाबाट तिम्बुङ पोखरी क्षेत्रसम्म सडक मार्ग बन्न आवश्यक रहेको राईको भनाइ छ ।
यस्तै ठाउँठाउँमा होटलहरू निर्माण भए आउने पर्यटकलाई सहज हुने सक्ने राईले बताउनुभयो । कालिखोलादेखि तिम्बुङ पोखरी पुग्न पैदल एक दिन लाग्छ । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुर पोखरी, नीर पोखरी लगायतका १८ वटा पोखरी छन् ।
यस पोखरीको प्रचारका लागि ट्रेल रन प्रतियोगिता आयोजनाको तयारी गरिएको थियो । तर जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि प्रतियोगिता रद्द गरिएको छ । गएको २६ गते सञ्चालन हुने भनिएको प्रतियोतिगा रद्द गरिएको हो ।
प्रतियोगिताको सबै तयारी पूरा गरी कार्यक्रमस्थलतर्फ आयोजकसहित अतिथि केन्द्रित भइसक्दा देशमा सुरु भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भई अवस्था असामान्य भएकाले प्रतियोगिता रद्द गरिएको कार्यक्रम संयोजक अमिर राईले बताउनुभयो ।
उहाँका अनुसार देशको विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत गरी करिब ५० जना धावकले प्रतियोगितामा सहभागी हुनलाई नाम दर्ता गराएका थिए। प्रतियोगितामा नाम दर्ता गराएकामध्ये करिब ३० जना धावक कार्यक्रमस्थल पुगेका थिए ।
यस्तै जिल्लाका पत्रकार, अतिथि साथै विभिन्न संस्थाका प्रतिनिधि, सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया पनि कार्यक्रममा स्थलमा पुगिसक्नुभएको थियो । कार्यक्रम रद्द भएपछि सबै जना तिम्बुङ पोखरीको अवलोकन गरेर फर्केका थिए ।
प्रतिक्रिया