ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय साँघुले स्नातक तह अध्यापन गराउन सम्बन्धन प्राप्त गरेको छ । नारायणी माध्यमिक विद्यालयलाई पूर्वाञ्चल विश्व विद्यालयले सम्बन्धन प्रदान गरेको हो ।
सम्बन्धन सहमतिपत्रमा विश्व विद्यालयको तर्फबाट योजना महाशाखा प्रमुख कमलप्रसाद दुलाल र विद्यालयको तर्फबाट शिक्षक रुपनारायण घिमिरेले हस्ताक्षर गर्नुभएको छ । यहाँ चार वर्षे बिएडको पढाइ हुने भएको छ ।
अङ्ग्रेजी, सामाजिक र नेपाली मुख्य विषय रहेको यहाँ एक शैक्षिक सत्रमा ६० जनाले पढ्न पाउनेगरी सम्बन्धन दिइएको बताइएको छ । यसमा नियमानुसार क्याम्पसले छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने हुन्छ ।
योसँगै ताप्लेजुङमा स्नातक तहको अध्ययन हुने तीन वटा कलेज भएका छन् । यसअघि पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा स्नातक तहको पढाइ हुँदै आएको थियो ।
तर, जिल्लाको निर्वाचन क्षेत्र दुई मा भने यो पहिलो स्नातक तहको पढाइ हुने क्याम्पस बनेको हो । पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा निर्वाचन क्षेत्र एकमा पर्दछ ।
प्रतिक्रिया