ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिकाको दुई नम्बर वडा सादेवा स्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो ।
मूर्ति मन्दिरबाट करिब २० मिटर तल लगेर तोडफोड गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार मूर्तिको एउटा हात भाँचिएको र मूर्ति पूर्ण रुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ ।
मूर्ति कसले मन्दिरबाट बाहिर निकाली तोडफोड गरे भन्नेबारे अनुसन्धान सुरु गरिएको अध्यक्ष राईको भनाई छ । करिब १ महिना अघि मात्र उक्त मूर्तिको अनावरण गरिएको थियो । मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले अनावरण गर्नुभएको थियो ।
मूर्ति पालिका अध्यक्ष राईको पहलमा भारतबाट ल्याइएको हो । केही समय आफ्नै घरमा राखेर पूजा गर्ने गरेको पनि राईले बताउनुभयो । घटना ठूलो भएकाले निष्पक्ष छानबिन गर्ने राईको भनाई छ ।
उक्त मूर्ति राख्ने समयमा केही असन्तुष्ट पक्षहरूले नराख्न आग्रह गर्दै आएका थिए ।
तस्विर सौजन्य : ओमेन्सा राई
प्रतिक्रिया