ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ । गाउँपालिकाले गत असार ९ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति, कार्यक्रम र बजेट पास भएको हो ।
गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन० का अनुसार गत असार नौ गते प्रस्तुत भई स्थगित भएको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम शनिबारको सभाले केही संशोधन सहित सर्वसम्मतले पास गरेको छ । असार नौ गते गाउँपालिकाको २१ औं गाउँ सभा मार्फत पालिका अध्यक्ष पोमूले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बजेट प्रस्तुत गर्नु भएको थियो ।
आगामी आर्थिक वर्षका लागि पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको थियो । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको थियो ।
यस्तै आठराई त्रिबेणी गाउँपालिकाले पालिका भित्र रहेका भूमिहीन सुकुम्बासीलाई पालिकाले आफैं खरिद गरी जग्गा दिनेगरी नीति तथा कार्यविधि ल्याई पारित गरेको छ । पालिका भरी अहिले २९ घर परिवार भूमिहीन तथा सुकुम्बासी रहेको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ । छुट भएका भूमिहीनहरूको थप लगत सङ्कलनको समयावधि प्रदान गरेर पालिकाले यकिन तथ्याङ्क समेत सङ्कलन गर्ने भएको छ ।
साथै पालिकाले यसपटक कृषि क्षेत्रको बजेटलाई प्राथमिकता दिएको छ । कृषि क्षेत्रमा झण्डै १ करोड हाराहारी रकम बिनियोजन भएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यमा पालिकाले प्राथमिक चरण पार गरेकोले यसपटक कृषि क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
प्रतिक्रिया