ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पाथीभरा क्याम्पसले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार स्ववियु कार्यालयमा एक कार्यक्रमका बिच २ वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरेको स्ववियु सभापति अर्जुन खिम्दिङले जानकारी दिनुभएको छ । उहाँका अनुसार निर्वाचित भएर आएदेखि क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि गरेका कार्यको प्रगति सार्वजनिक गरिएको हो ।
कार्यप्रगति वितरणमा स्ववियुको पहलमा १४० जना फक्ताङ्लुङ गाउँपालिकाका विद्यार्थीलाई पालिकाबाट पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिएको र आगामी वर्षका लागि सो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । स्ववियुले समन्वय गरी यु. जी. सि. बाट ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको कार्यप्रगति वितरणमा उल्लेख छ ।
यु जी ओ नेपालबाट १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको, मेरिङ्देन गाउँपालिकाबाट छात्रवृत्तिका लागि सम्झौता भएको र वडा नं. ६ बाट १७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको, स्ववियु पहलमा एच. पि. एफ., फुङलिङ नगरपालिका र क्याम्पसको त्रिपक्षीय साझेदारीमा १ करोड ३३ लाख लागतको १० कोठे भवन निर्माण सम्पन्न भएको उल्लेख छ । यस्तै क्याम्पस हातामा शुद्ध तथा तातोचिसो पिउने पानीको व्यवस्था गरिएको स्ववियुले जनाएको छ ।
क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरूका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिएको, स्ववियु कप २०८०, स्वागत तथा बिदाई कार्यक्रम २०८० मा तीन दिन आयोजना गरि सफलतापूर्वक सम्पन्न भएको कार्यप्रगति वितरणमा उल्लेख छ । क्याम्पस परिसरभित्र वृक्षरोपण, सरसफाइ तथा प्रत्येक कक्षामा डस्टबिनको व्यवस्था गरिएको, आकस्मिक तथा प्राथमिक उपचारको व्यवस्था गरिएको, त्रिविको नियम अनुसार अध्ययन भएको र कक्षा कोठा प्रत्येक दिन अनुगमन हुँदै गरेको, स्ववियु शैक्षिक क्यालेन्डर २०८१ बैशाख प्रथम साता प्रकाशित गरेको जनाएको छ ।
यस्तै क्याम्पसमा अध्ययनरत २५० जनाको शिक्षक सेवा आयोग र अनुदान आयोगको निःशुःल्क अनलाइन फारम भरिएको, २ वर्ष बसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम गरिएको, अतिरिक्त क्रियाकलाप अन्र्तगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको, शिक्षणलाई प्रविधिसँग जोड्न आईटी ल्याब र स्मार्ट बोर्डको स्थापना र क्यू. ए. ए. सटिर्फिकेट गर्न विशेष पहल गरी प्रकृयामा रहेको स्ववियुले जनाएको छ ।
स्ववियुले अघिल्लो वर्षको पनि कार्यप्रगति विवरण सार्वजनिक गरेको थियो । जिल्लाको एकमात्र स्नाकोत्तरतह अध्ययन हुने यस क्याम्पसमा शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन, समाजशास्त्र आदि अध्ययन हुने गरेको छ ।
प्रतिक्रिया