ताप्लेजुङ। तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।
सिरिजङ्घा महोत्सव –२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिने गाउँपालिका उपाध्यक्ष चित्र माबो लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता समुद्र सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा हुनेछ । प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय, महिला पुरुष सबैले सहभागिता जनाउन सक्ने उहाँको भनाइ छ ।
जलवायु परिवर्तनको असरसम्बन्धी अनुसन्धान र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजनासँगै म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको माबोले बताउनुभयो । म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख आठ हजार ५८६, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ तथा तेस्रो हुनेलाई ५८ हजार ५८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
योसँगै बैशाख ५ गते देखि १३ गतेसम्म विज्ञ टोलीद्वारा जलवायु परिवर्तनसम्बन्धी असरको अध्ययन अवलोकनका लागि अनुगमन गरिने बताइएको छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइक्लिङ कार्यक्रम पनि आयोजना गरिनेछ ।
प्रतिक्रिया