कोरोना भाइरसका कारण बन्द भएको टिपताला नाका पाँच वर्षपछि खुल्यो



ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो। नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो। टिपताला खुला भएसँगै शुक्रबार ३० जना नेपाली तिब्बतको रिउतर्फ गएका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो।

अध्यक्ष लिम्बूका अनुसार ओलाङ्चुङगोला, याङ्मा लगायतका स्थानीय तिब्बत गएका हुन्। ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीयहरु तिब्बत गएका बताउनुभयो। वडाध्यक्ष शेर्पाकाअनुसार सात दिनको समय लिएर स्थानीय तिब्बतको रिउ गएका हुन्।

रिउका स्थानीय सत्ता तथा व्यापारीले व्यापारिक स्टल राखेको र त्यही स्टलको परिधिमा रहेर यहाँबाट गएका नेपालीले व्यापार समन्वय तथा प्रवद्र्धन गर्न पाउने आफूले बुझेको शेर्पाले बताउनुभयो। शुक्रबारदेखि खुलेको नाका अब निरन्तर खुला रहनेरनरहनेमा कुनै जानकारी नभएको पनि उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्रवेश अनुमति लिएर ओलाङ्चुङगोलाका स्थानीय तिब्बत गएका हुन्।

यसअघि मे ७ अर्थात वैशाख २५ गतेदेखि नै नाका खुल्ने खबरपछि यहाँका स्थानीयले तिब्बत जाने तयारी सुरु गरेका थिए। मे ७ कै दिन ओलाङ्चुङगोलाका स्थानीय तिब्बत जानका लागि टिपताला नजिक मौवाटारसम्म पुगेका थिए। तर, उक्त दिन नाका खुला नहुने तिब्बतका तर्फबाट जानकारी भएपछि उता हिँडेका स्थानीयहरुले बिच बाटोदेखि नै फर्कनुपरेको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो। वालुङका अनुसार नाका बन्द भएका कारण लामो समयदेखि आफन्त भेटघाट गर्न र अन्य काममा जान नपाएका स्थानीयहरु तिब्बत जानलाई आतुर रहँदै आएका छन्।

अहिलेसम्म नाका खुला नहुँदा ओलाङ्चुङगोला, याङ्मा, पापुङ, घुन्सा लगायतका बासिन्दाले तिब्बतमा रहेका आफन्तसँग भेटघाट गर्न पाएका छैनन्। त्यस्तै यहाँका स्थानीयले तिब्बतका व्यापारीसँग गर्दै आएको व्यापार कारोबार पनि ठप्प भएको छ। यहाँका व्यापारीले याकचौंरी, गलैँचा, जडीबुटीजस्ता वस्तुहरु तिब्बतका व्यापारीसँग व्यापार र कारोबार गर्ने गरेका छन्।

शुक्रबारदेखि भने टिपताला नाका खुलेकाले अब आफन्त भेटघाट गर्न, व्यापार गर्न र अन्य कामका लागि तिब्बत नेपाल आउजाउ गर्न पाइनेमा सीमावासी विश्वस्त छन्। यसअघि मे ७ देखि नै टिपताला नाका खुला हुने भनेपछि तिब्बत प्रवेशका लागि यहाँका स्थानीयले अनुमतिपत्र लिन थालेका थिए। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार हालसम्म करिव १३० जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिई सकेका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वडा ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकाले स्थानीयले प्रवेश अनुमतिपत्र लिएका प्रजिअ आचार्यले जानकारी दिनुभयो।

समुद्र सतहदेखि पाँच हजार १०० मिटरको उचाइमा रहेको द्विदेशीय सिमाना टिपतालासम्म भर्खरै सडकको पहुँचसमेत पुगेकाले नाका खुला भएपछि ओलाङ्चुङगोला, याङ्मासहितका सीमा बस्तीका बासिन्दा हर्षित छन्। बन्द भएको पाँच वर्षपछि नाका खुला भएकाले अब भने प्राकृतिक याम र मौसमका कारणबाहेक टिपताला नाका सधैं खुला रहनेमा आफूहरु ढुक्क रहेको ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाले बताउनुभयो। gorkhapatraonline.com

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १४:००

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ