ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले सञ्चारकर्मी मनु माबो सहित एक सामाजिक व्यक्तित्व र एक उत्कृष्ट रेडक्रसको उपशाखालाई पुरस्कृत गरेको छ । गौतम स्मृति दिवसको अवसर पारेर आज रेडक्रसको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।
पत्रकार तर्फ रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बूलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिस तथा प्रतिष्ठानको निर्णय बमोजिम माबोलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । माबो पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य रहनु भएको छ ।
यस्तै सामाजिक व्यक्तित्व तर्फ ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ३ हाङपाङ निवासी हर्क यक्सो पुरस्कृत हुनुभएको छ । यक्सोलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो ।
यस्तै उत्कृष्ट रेडक्रस उपशाखा अन्तरगत यस वर्ष मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित साँघु उपशाखा पुरस्कृत भएको छ । पुरस्कृत उपशाखाको तर्फबाट साँघु उपशाखाका सभापति मधुकला चोङवाङले नगद १५ हजार १०५ रुपैयाँ राशीको पुरस्कार ग्रहण गर्नु भएको छ ।
टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक वर्ष बैशाख ९ गते एक उत्कृष्ट सञ्चारकर्मी, एक सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाभरको एक उत्कृष्ट रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्नभएको हो ।
प्रतिक्रिया