ताप्लेजुङमा चिराइतोको मूल्य बढ्दा घट्यो उत्पादन



ताप्लेजुङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । चिराइतोको मूल्य पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ ।

फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्नुहुन्थो । उहाँले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्‍याउनुुहुन्थ्यो । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो ।

तर, कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् ।

उहाँले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत वर्ष सात मन मात्र बिक्री गर्नुभयो । उहाँले प्रति मन रु ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।” उहाँका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो ।

यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ । फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिराइतो बेचेर मनग्य आर्जन गर्नुभयो । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उहाँले प्रतिकेजी रु। एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गर्नुभयो ।

चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गर्नुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गर्नुभयो । उहाँका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन रु। ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु। १५ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत रु। ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ । गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ ।

वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/०७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट रु दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् ।

झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ ।

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधीका रुपमा चिराइतोको प्रयोग हुने गर्दछ ।

वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ । रासस

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ०६:१३

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित