तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये



रेडियो काबेली

तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले ९टिएमजे० क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताउनुभयो । उहाँले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथीभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए।

वसन्तपुरबाट छ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारे, पाँचपोखरीलगायतका पर्यटकीय क्षेत्र हुन् । लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका –१ का किसान भरतसिं गुरुङले बताए ।

तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावोहाङले बताए । पाँचपोखरी छेउमा गुराँसको पार्क बनाउन ठेक्का लागिसकेको र तीनजुरे सामुदायिक वनले गुराँसका बिरुवा रोपिरहेको उनको भनाइ छ ।

नगरपालिकाको समन्वयमा विभिन्न दाताको सहयोगमा वसन्तपुरमा निर्मित चोत्लुङ उद्यानमा दैनिक चार–पाँच सय पर्यटक घुम्न आउने गरेको पनि नगरप्रमुख माबोहाङले बताए । चोत्लुङ उद्यानमा बनेका पुराना घर, ढिकी, जाँतो, कुवा र सङ्कलन गरेर राखिएका पुराना सामग्रीको सङ्ग्रहालय हेरेर पर्यटक मोहित हुने गरेका छन् ।रासस

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०९:४१

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता