तेल्लोकमा आगलागी बिरुद्ध बिपद् व्यवस्थापन समितिको अभ्यासमूलक शिक्षण सुरु



ताप्लेजुङ । मुख्य जोखिम समय अघिनै आगलागीका घटनाबाट क्षति हुन थालेपछि ताप्लेजुङमा बिपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यबारे अभ्यासमूलक शिक्षण सुरु गरिएको छ ।

सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा आगलागी पूर्व तयारी तथा प्रतिकार्य बारे अभ्यासमूलक शिक्षण गराईएको जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । ‘बिपद्का घटना हुनै नदिन गर्नुपर्ने सावधानीका उपाय बारे अनुशिक्षित गर्नु नै हो’अभ्यासमूलक शिक्षणको उद्धेश्य बताउँदै पौडेलले भन्नुभयो । सम्भावित बिपद्का घटना र बिपद्को क्षेत्र पहिचान गरी बिपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई बढी जिम्मेवार र अग्रसर बनाउन यस्ता अभ्यासमूलक शिक्षणलाई प्राथमिकतामा राखिएको पौडेलले बताउनुभयो ।

ताप्लेजुङ सबैभन्दा बढी आगलागी र बाढी पहिरोका बिपद्का घटनाले प्रभावित जिल्ला हो । प्राय काठ र टिनले बनेका पुराना घर,आगोलाई राम्ररी रुंघेर बाल्ने तथा आगोको काम सकिएपछि त्यसलाई राम्ररी ननिभाउने,खाना पकाउने ग्याँसको उचित उपयोगमा ध्यान नदिने र पुराना बिद्युतीय संरचनाका तारबारलाई उचित व्यवस्थापन नगर्ने सहितका समस्याका कारण आगलागी हुने गरेका छन् ।

जिल्ला बिपद् व्यवस्थापन समितिका सदस्य तथा सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान बिपद् बिरुद्ध सचेतना जागृत गराउन तथा बिपद् भईहाले पीडितको राहत,उद्धार,पुर्नबास र पुर्ननिर्माण सहितका कार्यमा लाग्न जनशक्तिलाई यसको प्रकृया जानकारी गराउन अभ्यासमूलक शिक्षण लाभदायक हुने बताउँनुहुन्छ । यस्ता शिक्षण अभ्यासले सम्भावित जोखिम बिरुद्ध सुरुमै सावधानी अपनाउने तथा जोखिम भइहाले त्यसबिरुद्ध डटेर उचित सामना गर्ने उपाय दिने चौहानले बताउनुभयो ।

सिरिजङ्गा गाउँपालिका,जिल्ला बिपद् व्यवस्थापन समिति,ईलाका प्रहरी कार्यालय तेल्लोक,सशस्त्र प्रहरी वल सुरक्षा बेसक्याम्प सिनाम र नेपाल रेडक्रस सोसाईटी तेल्लोकले संयुक्त रुपमा यस्तो अभ्यासमूलक शिक्षण कार्यक्रमको आयोजना गरेका हुन् । यसअघि आगलागीको जोखिम बिरुद्ध सचेतना जागृत गर्न मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा यस्तै अभ्यास शिक्षणको आयोजना गरिएको थियो ।

मौसम अनुसार हुने बिपद्का घटनाहरुलाई मध्यनजर गरी नियमित रुपमा यस्ता अभ्यास शिक्षण गराउने जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । ताप्लेजुङमा आगलागी बाहेक बाढी र पहिरो सबैभन्दा बढी बिपद्का घटनामा दरिन्छन् । प्राय भिरालो जमिन रहको जिल्लाको अधिकाँस भू–भागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटिय क्षेत्रहरु बाढीको समयमा जोखिममा हुने गरेको छ ।

आगलागीका लागि जुनसुकै समय उत्तिकै जोखिमपूर्ण रहेपनि फागुन देखि जेठ सम्मको अवधिलाई आगलागीको उच्च जोखिम समय मानिएको छ । आगलागीलाई मानवीय त्रुटी अथवा हेलचेक्र्याँईबाट उत्पन्न हुने बिपद्को रुपमा चित्रित गरिएको छ । अभ्यासमूलक शिक्षण संगै ग्याँस सिलिण्डरबाट हुने आगलागी जोखिम तथा सम्भावित आगलागी नियन्त्रणका उपाय,ग्याँस एक्टिङग्युसरको प्रयोगका बिधिबारे समेत समुदायलाई जानकारी गराईएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ ।

अनुशिक्षण कार्यक्रममा सिरिजङ्गा गाउँपालिका अध्यक्ष चौहान,प्रमुख जिल्ला अधिकारी पौडेल,सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष चित्र मावो,भीमकाली गुल्मका गुल्मपति बरुण दर्शनधारी,जिल्ला प्रहरी प्रमुख (डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी वल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति (सशस्त्र डिएसपी) रवीन सिलवाल,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँई,सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली,सिरिजङ्गा गाउँपालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु एवम् स्थानीय समुदायका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । eujyalopost.com

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १४:०६

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता