ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेलबाट मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बी टी फुटबल क्लब तेह्रथुमलाई ४–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टीम बनेको हो ।
अब मोरङले फाइनल प्रवेशका लागि पुष ९ गते पाँचथर फुटबल क्लब पाँचथरसँग प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । भोलि सेमिफाइनलको पहिलो खेलमा चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुमबीच आमनेसामने हुदैछ ।
सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई र तेह्रथुमले रारा फुटबल क्लब धनकुटालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको विजेताले ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता चासोक तङनामकोअवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुङभो र चासोक तङनाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजना गरिएको हो । खेलको फाइनल पुष ११ गते हुँदैछ ।
प्रतिक्रिया