ताप्लेजुङको फुङ्लिङमा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।

सात वर्षअघि अर्थात् २०७३ सालमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी गुम्बा निर्माण सुरु गरिएको भए पनि बजेट अभावले निर्माण कार्यमा प्रगति भएको छैन । ङाग्युर ञिङ्मा डोकुन थार्पालिङ नामकरण गरी बौद्ध गुम्बा निर्माणको काम सुरु गरिएको थियो । बजेट अभाव भएकाले निर्माण कार्यमा समस्या भइरहेको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष भगिमान तामाङले बताउनुभयो ।

तामाङका अनुसार जिल्लाकै एक आकर्षक र नमुना गुम्बा बनाउने दावीसहित संरचनाको आकृति (डिजाइन) बनाएर निर्माणको काम सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेको सात वर्ष हुँदासमेत पर्याप्त बजेट नहुँदा गुम्बा निर्माणमा ५० प्रतिशत पनि प्रगति नभएको उपभोक्ता समितिले जनाएको छ । वडा सदस्यसमेत रहनुभएका बौद्ध गुम्बा व्यवस्थापन समितिका सदस्य भूपेन्द्र मगरले बजेट जुटाउन गाह्रो भएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म गुम्बा विकास समितिबाट प्राप्त सात लाख रुपियाँ, पूर्व प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङको प्रदेश सांसद विकास कोषबाट प्राप्त नौ लाख रुपियाँ खर्च भएको छ ।

त्यस्तै नगरपालिका र वडाबाट प्राप्त रकम तथा स्थानीयले सङ्कलन गरेको ४० लाख रुपियाँ नगद र जनश्रमदान गरी हालसम्म करिब एक करोड रुपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षका लागि वडाबाट विनियोजित छ लाख रुपियाँबाहेक अन्य कुनै बजेट उपलब्ध नभएको पनि गुम्बा व्यवस्थापन समितिले जनाएको छ । यता, बजेट व्यवस्थाका लागि प्रदेश सरकार हुँदै जिल्लाबाट निर्वाचित प्रदेश तथा सङ्घीय सांसदहरुलाई पनि गुहार्दै आएको निर्माणाधीन बौद्ध गुम्बाका संरक्षक किरण पाख्रिन तामाङले बताउनुभयो । जनप्रतिनिधिसमक्ष बजेट माग गर्दा हालसम्म आश्वासन मात्र पाउनेगरेको तामाङको भनाइ छ ।

उक्त बौद्ध गुम्बा निर्माण सम्पन्न गर्न २०७३ सालमा गरिएको डीपीआरअनुसार कुल लागत रकम दुई करोड ५० लाख तीन हजार ८४७ रुपियाँ छ । सात वर्षसम्म पनि गुम्बा निर्माणको काम सम्पन्न नभएको गुम्बाका संरक्षक तामाङले बताउनुभयो ।

गुम्बा निर्माण गर्न सुरु गरिएको टोलमा तामाङ समुदायको बाहुल्य छ । हाल सो टोलका बासिन्दाले स्थानीय तह हुँदै जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधिसमक्ष थप योजना नभइ निर्माणाधीन बौद्ध गुम्बा सम्पन्न गरिदिए पुग्ने बताउँदै आएका छन् । आफ्नो समुदायका लागि मात्र नभई निर्माणाधीन बौद्ध गुम्बा सबैको साझा बनाउन चाहेको उहाँहरुको भनाइ छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 1:08 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क