पाँचथर। जारी प्रथम किराँत गोल्डकपमा आयोजक पाँचथर फुटबल क्लब पाँचथरलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । बुधबार फिदिम माबिको खेलमैदानमा भएको खेलमा टाइब्रेकरमा आयोजक टिमलाई पछि पर्दै डाँगीहाट फाइनलमा पुगेको हो ।
निर्धारित ८० मिनेटको सेमिफाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकमा पाँचथर फुटबल क्लब लाई ४-१ गोल अन्तरले हराउँदै डाँगीहाट फाइनल प्रवेश गरेको छ ।
टाइब्रेकरमा डागीहाटका उमेश कार्कि, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बुले गोल गर्न सके भने पाँचथर तर्फबाट असिम राईले मात्र गोल गर्न सके । पाँचथरका रोशन आङदेम्बेको प्रहार आकासिँदा प्रकाश धमलाको प्रहार मोरङका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ दि म्याच डाँगीहाटका गोल रक्षक प्रमिजय गच्छेदार घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।
फाइनल प्रवेश गरेको मोरङले शनिबार कर्ण सिं सोनाम स्मृति क्लब र बिर्तामोड युनाइटेड बिचको विजेता सँग उपाधिको लागी प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया