काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा ढिलाइ भइरहेको बताउनुभएको छ । आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको बताउँनु भएको हो ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहनुभएका ओलीले मंगलबार बिहान आयोजनाको निरीक्षण गर्दै कामलाई गति दिनु पर्ने बताउनुभयो । ‘यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् भन्न चाहन्छु’, ओलीले भन्नुभयो । ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने उहाँले बताउनुभयो । ओलीले निर्माणको काममा खट्ने कर्मचारीहरूलाई भने धन्यवाद दिनुभयो । निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न पनि ओलीले आग्रह गर्नुभयो । सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले ठुलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरमा सम्झौता गर्न नहुने ओलीको धारणा छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो ।
सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ । आयोजनाबाट ४६।८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्याउने सो आयोजनाको लक्ष्य रहेको छ ।
उक्त आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ । आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुग्नु भएको थियो । उहाँहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया