सुकेटार–काफ्लेपाटी सडक : तीव्र दबाब, दुई वर्षपछि ठेकेदार कार्यस्थलमा



ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरसम्म पुग्ने सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे गर्ने जिम्मा लिएको कन्टेक प्रालिले कम्पनीकै व्यवस्थापकीय कमजोरीका कारण काममा ढिलाई भएको भन्दै अब काममा फर्किएको जनाएको छ ।

कम्पनीका प्रबन्धक निर्देशक दीक्षान्त दाहाल र कम्पनीका मानव संसाधन तथा व्यवस्थापन प्रमुख गणेश मैनाली सहितका प्रतिनिधि शनिवार बाँकी कामको प्रारम्भिक खाकासहित नियमक निकाय तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालय उपस्थित हुनु भएको थियो ।‘आजबाट हामीले ब्याकप कटिङ (माटो कटान) को काम थालेका छौं, अब द्रुत गतिमा काम हुन्छ’ कम्पनीका प्रबन्ध निर्देशक दाहालले भन्नुभयो । उहाँका अनुसार २ वटा मेसिन कालोपत्रे सडकको सुरुआत केन्द्र (जिरो प्वाईन्ट) सुकेटारबाट ब्याक कटिङ गर्दै काफ्लेपाटी तर्फ अघि बढ्ने छ ।

तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका इन्जिनियर बसन्त गाँईका अनुसार कम्पनीले १ लाख ८० हजार घनमिटर माटो कटान गर्नुपर्नेमा अहिले सम्म ३० हजार घनमिटर मात्र कटान गरेको छ । नियमक निकायले निर्माण कम्पनीलाई बाँकी १ लाख ५० हजार घनमिटर माटो कटान सहितका कार्य गर्न बाँकी रहेकोले थप उपकरण कार्यस्थलमा थप्न सुझाएको छ ।

निर्माण कम्पनीका एक प्रतिनिधि कुशल शर्माले फुङलिङ र मिक्वाखोला क्षेत्रको दर्गुर्नेमा कालोपत्रेका लागि प्रयोग हुने बेस सामाग्रीका लागि कम्पनी आफैँले क्रसर मेसिन जडान गर्न थालेको बताउनुभयो । उहाँका अनुसार बढीमा एक महिना भित्रमा त्यहाँ क्रसर जडान भइसक्ने छ । कम्पनीका प्रबन्धक निर्देशक दाहालले सिमेन्ट सहितका मेटेरियल र जनशक्ति कार्यस्थलमा आइपुग्न कम्तिमा १० दिन लाग्ने भएकोले माटो कटान पछि ढल तथा नाली निर्माणको कार्य सुरु हुने जानकारी दिनुभयो ।

कम्पनीले निर्माण स्थलमा बरिष्ठ इन्जिनियरको नेतृत्वमा कन्ट्रयाक म्यानेजर नियुक्ति गर्ने बताएको छ ।‘अब हामीलाई कानुनी र नैतिक हिसाबले पनि यो कामबाट भाग्ने वा छलिने अवस्था छैन’ कम्पनीका मानव संसाधन तथा व्यवस्थापन प्रमुख मैनालीले भन्नुभयो । उहाँले समयावधि भन्दा केहि ढिला भएपनि आफुहरु कार्यस्थलमा आइसकेकोले काममा शंका नगर्न आश्वस्त पार्ने प्रयास गर्नु भएको छ ।

तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयका प्रमुख (डिभिजनल ईञ्जिनियर) सुर्दशन कार्कीले निर्माण सामाग्री, निर्माण जनशक्ति र रकमको अभाव हुन नदिने गरी पूर्ण तयारी स्वरुप तीव्रताका साथ काममा लागि निर्माण कम्पनीलाई सुझाउनु भएको छ । दिन र रात दुई समयावधि (सिफ्ट) मा काम गर्ने प्रबन्धक गर्न समेत कार्कीको सुझाव छ । उहाँले निर्माण कार्यको दैनिक प्रतिवेदन आफ्नो निकायमा दिन निर्माण कम्पनीलाई भन्नु भएको छ ।

सुकेटारबाट काफ्लेपाटी सम्मको १० किलोमिटर लामो दुरीको सडक ७ मिटर चौडाको हुने सडक योजना कार्यालयका इन्जिनियर गाँईले बताउनुभयो । यसमा ढल तथा नालीको प्रवन्धक गरिएको समेत उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी कन्टेक प्रालिले सो सडक खण्ड आउँदो असार ११ गते सम्ममा कालोपत्रे गरिसक्नु गरी सम्झौता भएको थियो ।

कन्टेक प्रालिसँग २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोड रुपैयाँको बोलपत्र आह्वान भएकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् बोलपत्र आवह्वान भएको अङ्कको ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । सम्झौता भएको २ वर्ष अवधि पूरा हुँदा समेत हाल सम्म कूल कामको ७ प्रतिशत मात्र भौतिक प्रगति देखिएको सडक योजना कार्यालयले बताएको छ ।

वर्षेनी लाखौं तीर्थयात्री आवतजावत गर्ने पाथीभरा क्षेत्रको यो सडक निर्माण कम्पनीले काम नगरेपछि पछिल्लो समय यहाँका जनप्रतिनिधिले कित जिम्मा लिएको काम समयमा पूरा गर्न कित काम छाड्न दबाब दिदैँ आएका थिए । गत असोज १४ गते प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको संयोजनमा सडक विभाग, निर्माण कम्पनी र यहाँस्थित सडक योजना कार्यालयका प्रतिनिधि बसेर तत्काल काम थाल्ने सहमति गरिएको थियो । त्यसको एकसातापछि पाथीभराको सिजन सुरु भएको समयमा कम्पनीका सुपरभाइजर मदन कठायत कार्यस्थलमा आएपनि काममा खासै प्रगति भएको थिएन ।

अघिल्लो साता प्रतिनिधिसभाका सांसद लीलादेवी बोखिमको संयोजनमा भएको छलफलका क्रममा निर्माण कम्पनी कन्टेकलाई कामको पछिल्लो अवस्था र संशोधित कार्यतालिका सहित उपस्थित हुन सडक योजना कार्यालयले बोलाउने सहमति भएको थियो । लिखित पत्राचार पछि शुक्रवार कार्यस्थल आइपुगेको कम्पनीको टोलीसँग शनिवार सांसद बोखिम, जिसस प्रमुख छिरिङ लामा, फुङलिङ नगरप्रमुख अमिर मादेन, जिसस उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका रणबहादुर कार्की र जिविसका पूर्व सभापति दीपेन्द्रकुमार सेन्दाङ सहितका सरोकारवालाको खबरदारी बैठक बसेको हो । उज्यालो पोष्ट

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १४:०५

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्

फक्ताङलुङमा सवारी दुर्घटना हुँदा एक घाईते

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप दुर्घटना

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार