चासोक तङ्नामको अवसरमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप सहित विभिन्न कार्यक्रम सम्पन्न



एलिना दियाली
ताप्लेजुङ । चासोक तङ्नामको अवसरमा आमन्त्रित प्रथम कञ्चजंघा सेसेलुङ गोल्डकप सहित विभिन्न कार्यक्रम गरिएको छ । पुस ४ गतेबाट सुरु भएको गोल्डकप सहितका अन्य प्रतियोगिता पुष ११ गते बुधबार पुरस्कार वितरण गरेसँगै सकिएको हो ।

प्रतिनीधि सभा सदस्य उर्मिला थेबेको प्रमुख आतिथ्यता र कोशी प्रदेशकी पुर्व स्वास्थ्य मन्त्री निर्मला तावाको विशिष्ट आतिथ्यता, फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, फुङलिङ नगरपालिकाका नगर उप–प्रमुख भिमा देवी ओझा, प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको चासोक तङ्नाम संचालक समिती संयोजक चन्द्र थेबेले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य उर्मिला थेबेले चासोक तङ्नाम जस्ता चाडपर्वले सबैलाई एकताको सुत्रमा बाँध्न टेवा पुग्ने साथै खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै जिल्लाको आर्थिक समृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रथम कञ्चजंघा सेसेलुङ गोल्डकपको उपाधी भने चक्रघट्टी फुटबल क्लब सुनसरीले चुमेको छ । बुधबार भएको फाईनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै चक्रघटी फुटबल क्लब सुनसरीले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । टाइब्रेकरमा मोरङका सुशील राईले हानेको गोल सुनसरीका गोलकिपर अभिशेक राईले बचाएपछि र अर्का अभिशेक लिम्बूले हानेको गोल पोलमा ठोकिएर फर्किएपछि सुनसरी उपाधि चुम्न सफल भयो । उपाधीसँगै चक्रघट्टी फुटबल क्लबले ३ लाख २ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता भएको सगरमाथा युथ क्लबले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्रमा चिक्त बुझाएको छ ।

उपाधी चुमेको सुनसरीले पहिलो खेलमा आयोजकलाई २–१ र सेमिफाइनलमा रारा फुटबल क्लब धनकुटालाई १–० को अन्तरले हराएको थियो । उपविजेता भएको मोरङले पहिलो खेलमा बीटी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले र पाँचथर फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधिका लागि फाईनमा पुगेका थिए । फाईनल खेलकोे म्यान अफ द म्याच सगरमाथा युथ क्लब मोरङका शुशिल राई बने भने प्रतियोगिताको वेष्ट गोल किपर चक्रघटी फुटबल क्बल सुनसरीका असिव राई बनेका छन् भने राईजिङ प्लेयर्स कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङका शिशिर राई, हाई स्कोरर सुनसरीका आकाश राई र वेस्ट प्लेयर सुनसरीका सञ्जय प्रधान बनेका छन् ।

प्रतियोगितमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ सहित जिल्ला बाहिरका चक्रघट्टी फुटबल क्लब सुनसरी, सगरमाथा युथ क्लब मोरङ, बी.टि. फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम र रारा फुटबल क्लब धनकुटाले सहभागिता जनाएको खेल संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

गोल्डकप सहित चासोक तङ्नामको अवसरमा च्याब्रुङ नाच (केलाङ) प्रतियोगिता पनि गरिएको थियो । च्याब्रुङ नाच (केलाङ) प्रतियोगिताको उपाधि धिमाले याक्थुङ केलाङ सयङ याङवरक–२, पाँचथरले जितेको छ । सहभागी ६ टिमलाई पछि पार्दै उपाधि जितेको याङवरकले नगद ५० हजार हात पारेको छ । भानुजन माध्यमिक विद्यालयको मैदानमा भएको प्रतियोगितामा आनी साक्थिम प्रशिक्षण केन्द्र ताप्लेजुङ उप–विजेता बन्दै ४० हजार नगद जितेको छ । ताप्लेजुङकै किराँत याक्थुम चुम्लुङ लिम्बू कलाकार परिषद् तृतीय बनेको छ । उसले ३० हजार नगद हात पारेको छ । विवाह, उत्सव, शुभ कार्यमा बजाइने च्याब्रुङ प्रतियोगिताको लागि कम्तीमा १६ जना हुनुपर्ने र सुरु गरेको १५ मिनेटको समयमा समापन गरिसक्नु पर्ने नियमन बनाइएको थियो ।

च्याब्रुङ नाच्दाको शैली, त्योबेला हालिने भाका, खुट्टाको चाल, नाच्दा लगाइएको भेषभुषा, च्याब्रुङ नाचलाई राखिने सगुनलगायतका विषय हेरेर निर्णय गरिएको निर्णयमण्डलका संयोजक एव्म नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य सुरज मादेनले जानकारी दिए । निर्णायक मण्डलमा मादेनसहित गणेश सेनेहाङ लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई रहेका थिए ।

त्यस्तै धान नाचतर्फ तेज बहादुर चोङबाङ समुह मेरिङदेन प्रथम भएको छ । उस्ले १५ हजार रुपैँया जितेको छ । त्यस्तै द्धितिय बनेको याक्थुङ पालम समुह फुङलिङ नगरपालिका ६ ले १० हजार रुपैँया जित्दा तृतीय बनेको आनी साक्थिम प्रशिक्षण केन्द्र ताप्लेजुङले ५ हजार रुपैँया जितेको छ ।

त्यस्तै धनुषकाणतर्फ फुङलिङ नगरपालिका ४ का दिपेन्द्र मादेन ५७ अङ्क प्राप्त गर्दै प्रथम बने । उनले नगद पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरे । फुङलिङ नगरपालिका ३ का आनिन पालुङवा ५४ अङ्क प्राप्त गर्दै द्धितिय बनेका थिए उनले नगद चार सहित प्रमाण पत्र र मिक्वाखोला ३ की सुनिता पाङबो लिबाङ ५१ अङ्क प्राप्त गर्दै तृतीय बनिन् । उनले नगद तिन हजार सहित प्रमाणपत्र प्राप्त गरेको धनुषकाँण खेल संयोजक सुरेश सिंघकले जानकारी दिए । साथै धनुषकाण (आर्चरी) का प्रशिक्षक तथा राष्ट्रिय खेलाडी मञ्जु पालुङवालाई खेलकुद विकास समिती ताप्लेजुङले सम्मान गरेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष नरेन्द्र मावोले जानकारी दिए ।

लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम कै अवसरमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ । सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा पुष ४ गते गरिएको वक्तृत्वकला प्रतियोगितामा भानुजन माध्यमि विद्यालयका प्रतिक पुरी प्रथम भएका हुन् ।

त्यस्तै लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय (सिकुम लिम्बु) द्वितीय, अक्सफोर्ड आवासीय माध्यमिक विद्यालय (कृषा पौडेल) तृतीय र सेन्ट म्यारिज बोर्डिङ स्कुल (गोमा दाहाल) सान्त्वना भएकी छन् । प्रथम हुनेलाई नगद पाँच हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । चासोक तङनामको महत्वलाई अझ फैलाउन र विधार्थीको वाककलाको क्षमता विकास गर्न प्रतियोगिताको आयोजना गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक सह–संयोजक दिनेश लिङखिमले बताए । प्रतियोगितामा फुङलिङ नगरपालिकाका विभिन्न आठवटा विद्यालयको सहभागिता रहेको थियो ।

रमाईलो र नाँच गान मात्रै नभएर विद्यालयस्तरमा नै चासोक तङनामको महत्व बारे जानकारी गराउने उद्येश्यले लिटल बुद्ध बोर्डिङ स्कुलको संयोजनमा वक्त्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युबराज गिरीले जानकारी दिए । कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा सञ्चालन भएको प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भो फुङलेङले समन्वय गरेको थियो ।

चासोक तङनामकै अवसरमा पुष १० गते मंगलबार गायीका अस्मिता अधिकारी सहित, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य एव्म गायक सुरज मादेन, गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ, गायक उत्सब साँबा, गायक सुमन सानु कुरुङबाङ साथै अन्य स्थानीय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।

चासोक तङ्नामको अवसरमा गराईएको गोल्डकप सहितका अन्य प्रतियोगीता सम्पन्न गर्न ५६ लाख लागत अनुमान गरिएकोमा यस्को आय व्यय विवरण १५ दिन भित्र सार्वजनिक गरिने चासोक तङ्नाम संचालन समितीका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए ।

यस वर्षबाट सुरु भएको कञ्चनजंघा सेसेलुङ गोल्डकप आगामी वर्षमा निरन्तरा दिने समेत आयोजक कञ्चनजंघा फुङलिङ क्लबका अध्यक्ष अशोक थेबेले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति तथा संघ संस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सहयोगी सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ५ : ४२ बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको