सौगात बिष्ट
ताप्लेजुङ, मङ्सिर ८ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले १२ औँ उद्योग दिवसको अवसरमा सम्मानित हुने जिल्लाका पाँच उद्यमीको नाम सार्वजानिक गरेको छ । कार्यालयले जिल्लाका बिभिन्न क्षेत्रमा उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आएका पाचँजना उद्यमीलाई सम्मानमा लागि छनोट गरेको हो ।
मंसिर ९ गते मनाइने उद्योग दिवसको अवसरमा जिल्लाका चार जना महिला र एक पुरुष उद्यमीलाई सम्मान गर्न लागेको हो । जसमा कृषि तथा पशुपालन फर्म चार वटा र फाइबर उद्योग एउटा रहेका छन् ।
कार्यालयका अनुसार पाथीभरा याङवरक गाउँपालिका ४ बाट रूमदाली कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्दै आउनुभएकी चन्द्रकला राई, फुङ्लिङ नगरपालिका ३ बाट मनिषा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आउनुभएका मेदनीप्रसाद न्यौपाने र सोही वडामा शुष्मा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आउनुभएकी सीता भट्टराईलाई सम्मान गरिने कार्यालय अधिकृत लक्ष्मी सुहाङले बताउनुभयो।
त्यस्तैगरी, फुङ्लिङ नगरपालिका २ मा चन्दन फाइबर उद्योग सञ्चालन गर्दै आउनुभएकी माया गुरुङ र फुङ्लिङ नगरपालिका ६ की दाहाल कृषि अलैँची फर्म सञ्चालन गर्दै आउनुभएकी लीलादेवी दाहाललाई पनि सम्मान गरिने भएको छ।
सम्मानित हुने उद्यमीहरूलाई बिहान ११ बजे कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरिएको छ।






प्रतिक्रिया