ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा जारी अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि तेह्रथुमको फेदाप गाउँपालिका र धरानको मरिक एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबलाई ३–२ गोलले पराजित गर्दै मरिक एफसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि फेदाप गाउँपालिकाले पहिलो सेमिफाइनल खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
मरिक एफसीको जितमा मिलन लिम्बूले दुई तथा कृष्ण राईले एक गोल गर्नुभयो । कुम्मायक कुस्सायकका लागि नवराज माझी र निरोज लिङ्देनले एक–एक गोल गर्नुभयो । खेलमा दुई गोल गरेका मरिकका मिलन लिम्बू प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले पुरस्कारस्वरूप तीन हजार रुपियाँ बराबरको अलैँची प्राप्त गर्नुभयो ।
फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मङ्सिर २ सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुँदै छ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार विस्तार तथा पहिचान प्रवर्द्धन गर्ने र फङफङदेन झरनालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।






प्रतिक्रिया