ताप्लेजुङ, मङ्सिर ६ गते । विश्वविख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चालित निःशुल्क आँखा शिविरको पहिलो दिन ६८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । चारदिने शिविरको पहिलो दिन शनिबार ३६६ जनाको आँखाको परीक्षण गरिएकोमा ६८ जनाको शल्यक्रिया गरिएको हो ।
जसमा ३६ जना महिला र ३२ जना पुरुषको शल्यक्रिया गरिएको छ । परीक्षण गराउनेमध्ये १८९ जना महिला र १७७ जना पुरुष रहेका छन् । डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको प्राङ्गणमा सञ्चालन भइरहेको शिविरमा डाक्टर रुइतसहितको विशेषज्ञ टोलीले सेवा प्रदान गरिरहेको छ ।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार शिविरमा अमेरिकी नेत्ररोग विशेषज्ञ डाक्टर जियात विलियम र डाक्टर रुइतका छोरा डाक्टर सागर रुइतसमेत सहभागी हुनुहुन्छ ।
उहाँका अनुसार शनिबार शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी आइतबार बिहान ८ बजे फुङ्लिङस्थित होटल जन्नु इनमा खोलिने छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, रोहित फाउन्डेसन काठमाडौँ, फुङ्लिङ नगरपालिका र लायन्स क्लब अफ काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चालन भइरहेको छ ।
शिविरमा जिल्लाका विभिन्न स्थानबाट आँखासम्बन्धी समस्या भएका बिरामी सेवा लिन आएका छन् ।






प्रतिक्रिया