अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?



ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सहभागी हुने टोलीसँगै विजेता तथा उपविजेताले प्राप्त गर्ने पुरस्कार रकमसमेत टुङ्गो लागेको आयोजकले जनाएको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शुक्रबार त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्मभूमि तेल्लोकमा पत्रकार सम्मेलन गरी गोल्डकप तथा मेलाबारे औपचारिक जानकारी दिएको हो ।क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार प्रतियोगितामा आयोजकको एकसहित आठ टोली सहभागी हुनेछन् । 

यसपटक आयोजकको प्रतिनिधित्व खेवाङ स्पोर्टिङ क्लबले गर्ने भएको छ । प्रतियोगितामा सैनिक युथ क्लब झापा, युनाइटेड खर्साङ फुटबल क्लब भारत, रेडहर्स फुटबल क्लब इलाम, पाँचथर फुटबल क्लब पाँचथर, युनिक महादेव क्लब बेलबारी मोरङ, मरिक फुटबल क्लब धरान र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले तीन लाख ५१ हजार ३२२ रुपियाँ र उपविजेताले एक लाख ७५ हजार ३२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी तीन हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव रञ्जित माबोले बताउनुभयो ।

त्यसैगरी विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई जनही पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप तथा मेला सञ्चालनका लागि करिब ५५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको क्लबका सहसचिव शशीहाङ थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजङ्गासिंह थेबेको ३२२औँ जन्मजयन्तीको अवसर पारेर मङ्सिर २९ गते प्रतियोगिता तथा मेला समापन गरिनेछ । सोही जन्मजयन्तीलाई स्मरण गर्दै पुरस्कार रकमको अन्तिम अङ्क ३२२ राखिएको आयोजकले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्मस्थलका रूपमा परिचित छ । किरात लिम्बू लिपिका प्रचारक तथा सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता थेबेको योगदानको सम्मान र प्रचारप्रसार गर्ने, सामाजिक जागरण अभिवृद्धि गर्ने तथा खेलकुद र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गोल्डकप तथा मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको खेल तालिका थेबेको जन्मभूमि तेल्लोक वा सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेस्थित लिम्बू सङ्ग्रहालयमध्ये एक स्थानबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : 6:32 am

अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा आठ टोली सहभागी हुने, कुन-कुन ?

ताप्लेजुङ, मङ्सिर २८ गते । ताप्लेजुङमा मङ्सिर २३ देखि २९

अलैँची पुरस्कारका लागि आठ टोली भिड्दै, खेल तालिका सार्वजनिक

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा विपद्का समयमा हुन सक्ने

नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ताप्लेजुङ, कात्तिक १९ गते । नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको

दोभानका अग्निपीडितलाई रास्वपाको एक लाख ९२ हजार सहयोग

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा