ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन १० हजार ११६ जना तीर्थयात्रीले दर्शन गरेका छन् । मङ्गलबार यस वर्षकै सबैभन्दा बढी सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । मङ्गलबारको आगमन यस वर्षकै अहिलेसम्मको उच्च रहेको उहाँले जानकारी दिनुभयो ।
दसैँ, तिहार तथा नवरात्रको समयमा पाथीभरामा दर्शनार्थीको चाप बढी हुने गरेको छ । विशेषगरी कात्तिक महिनामा चाडपर्व, सार्वजनिक बिदा र अनुकूल मौसमका कारण नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किम, आसामलगायत क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जनाले पाथीभराको दर्शन गरेका थिए । आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या घटेर दुई लाख १७ हजार ८७६ पुगेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा भने दर्शनार्थीको सङ्ख्या बढेर दुई लाख ५२ हजार ७८ पुगेको समितिको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३४ हजार २०२ जना बढी तीर्थयात्रीले पाथीभराको दर्शन गरेका थिए ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिर पूर्वी नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पाथीभरा माताको दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ नेपालका विभिन्न जिल्लासँगै भारतका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
सदरमुकाम फुङलिङबाट सवारीसाधनमा काफ्लेपाटीसम्म पुग्न सकिन्छ । काफ्लेपाटीबाट करिब पाँच किलोमिटर पैदल उकालो यात्रा गरेपछि मन्दिर पुगिन्छ । तीर्थयात्रीको बढ्दो आगमनले स्थानीय होटल, यातायात, पसल तथा अन्य पर्यटन व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन सहयोग पुगेको छ ।
यस वर्ष एकै दिन १० हजारभन्दा बढी तीर्थयात्री पुग्नुलाई पाथीभराप्रतिको धार्मिक आस्था र पर्यटकीय आकर्षण बढ्दै गएको सङ्केतका रूपमा लिइएको छ ।






प्रतिक्रिया