ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा खेती विस्तार भएसँगै स्थानीय कृषि उपजको बजारीकरण र निर्यात बढ्दै गएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्पादन हुने गोलभेँडा स्थानीय बजारमा खपत हुनुका साथै तराईका बजारसम्म पुग्न थालेको हो ।
गाउँपालिकाको आर्थिक विकास शाखाअन्तर्गत सञ्चालित नर्सरीबाट उत्पादित गोलभेँडाका बिरुवा कृषकलाई वितरण गरी व्यावसायिक खेतीमा प्रोत्साहन गरिँदै आएको छ । गाउँपालिकाले २०७६ सालदेखि नर्सरी सञ्चालनमा ल्याएको हो । उक्त नर्सरीबाट व्यावसायिक कृषकलाई एक हजार वटासम्म गोलभेँडाका बिरुवा वितरण गर्ने गरिएको आर्थिक विकास शाखा प्रमुख विकास थेबेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो तीन महिनामा मात्रै गाउँपालिकाको नर्सरीबाट एक लाख १४ हजार पाँच सय गोलभेँडाका बिरुवा वितरण गरिएको छ । कृषकलाई बिरुवा वितरण गर्नुका साथै प्राविधिक टोली फिल्डमै पुगेर खेतीसम्बन्धी प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
व्यावसायिक खेतीसँगै स्थानीय उपभोगलाई समेत प्राथमिकता दिँदै गाउँपालिकाले आफ्नै घरायसी प्रयोजनका लागि गोलभेँडा लगाउन चाहने स्थानीयलाई समेत एक सय वटासम्म बिरुवा उपलब्ध गराउने गरेको छ । विशेषगरी दसैँ, तिहार र बेमौसमी उत्पादनलाई लक्षित गरी कृषकलाई बिरुवा वितरण गर्ने गरिएको छ ।
सिदिङ्वा गाउँपालिका–५ को पाथीभरा प्रगतिशील कृषक समूह, वडा नं. ४ को लाजेफुङ कृषक समूह तथा साविक साब्लाखुका वडा नं. ७, ८ र ९ लगायतका क्षेत्रमा गोलभेँडा खेती हुँदै आएको छ । यहाँ उत्पादित गोलभेँडा गाउँपालिकाभित्रै खपत हुनुका साथै तराईका बजारमा समेत बिक्रीका लागि पठाउने गरिएको छ ।

पाथीभरा प्रगतिशील कृषक समूहका अध्यक्ष कृषक जगन्नाथ दाहालका अनुसार यसअघि बेमौसममा उत्पादित गोलभेँडा प्रतिकिलो ६० देखि ७० रुपियाँसम्म बिक्री हुने गरेको थियो । अहिले भने उत्पादन तथा बजारको अवस्थाअनुसार प्रतिकिलो ३० देखि ४० रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
गोलभेँडासँगै गाउँपालिकाका विभिन्न क्षेत्रमा अन्य तरकारी तथा कृषि उपजको उत्पादनसमेत भइरहेको छ । साब्लाखुमा बोडी र सिमी खेती गर्ने करिब २८ देखि २९ घरपरिवार छन् । सिङ्गेदिनमा २५ देखि २६ घरपरिवारले खेती गर्दै आएका छन् । साब्लाखुका वडा नं. ८ मा ११ देखि १२ र वडा नं. ९ मा आठदेखि नौ घरपरिवार यस खेतीमा संलग्न छन् ।

त्यस्तै, मेहेले र सुरुमखिम क्षेत्रमा करिब ५० देखि ५५ घरपरिवारले रुखटमाटर र निगुरो उत्पादन गर्दै आएका छन् । आङ्खोप क्षेत्रमा भने १० देखि १२ घरपरिवारले ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेका छन् ।
स्थानीय स्तरमा कृषि उत्पादन बढ्दै जाँदा कृषकको आयआर्जनमा सुधार हुनुका साथै गाउँपालिकाको आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । आफ्नै गाउँमा उत्पादित कृषि उपजको उपभोग र बाह्य बजारमा बिक्रीको क्रम बढेपछि स्थानीय कृषकसमेत व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।






प्रतिक्रिया