ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८३ मा फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजकले अलैँचीलाई पुरस्कारका रूपमा दिने व्यवस्था गरेको हो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष फुटबल, नृत्य तथा च्याब्रुङ प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । सोमबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी तथा कार्यक्रमबारे जानकारी दिएको हो ।
समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार मेलाको मुख्य आकर्षण पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा आयोजक क्षेत्रको टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसँगै तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्ष पनि प्रतियोगितामा नगदको सट्टा पुरस्कार राशि बराबरको अलैँची प्रदान गरिएको थियो । स्थानीय स्तरमा उत्पादन हुने अलैँचीको प्रचारप्रसार, बजार विस्तार तथा किसानलाई उत्पादनप्रति प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
अलैँची ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो । खेलकुद प्रतियोगितामार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दा यसको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।
मेलामार्फत फङ्फङ्देन झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नु पनि मेलाको उद्देश्य रहेको समितिले जनाएको छ ।
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई एकसाथ जोड्ने मेलाले गाउँपालिकाको पर्यटन विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाको सहयोगमा मेला सञ्चालन गर्न लागिएको हो ।






प्रतिक्रिया