ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा २०८२/०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमै करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा कुल एक हजार १८२ क्विन्टल बढीको खाद्यान्न बिक्री भएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । दुई साताकै छोटो अवधिमा २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ आम्दानी भएको कार्यालयले उल्लेख गरेको छ ।
यस्तै एक साताको अवधिमा उपभोक्ताले २१ दशमलव ५ क्विन्टल दाल खरिद गरेका छन् । जहाँबाट कुल तीन लाख १३ हजार ५०५ रुपियाँको आम्दानी भएको छ । चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपियाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँ निर्धारण गरेको छ ।
उपभोक्ताको माग अनुसार खानेतेल समेत बिक्रीका लागि प्रक्रियाका चरणमा रहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो ।






प्रतिक्रिया