ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान बजारका आगलागी पीडित परिवारलाई तीन लाख ७६ हजार ७१० रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
समाजका अध्यक्ष सूर्यबहादुर खड्काका अनुसार आगलागीबाट प्रभावित परिवारलाई क्षतिको वर्गीकरणका आधारमा राहत रकम हस्तान्तरण गरिएको हो । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले क्षतिको मूल्याङ्कन गरी पीडित परिवारलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरेको थियो ।
वर्गीकरणअनुसार ‘क’ वर्गका दुई परिवारलाई प्रतिपरिवार ३७ हजार ६७० रुपैयाँका दरले, ‘ख’ वर्गका नौ परिवारलाई प्रतिपरिवार २७ हजार २०० रुपैयाँका दरले र ‘ग’ वर्गका पाँच परिवारलाई प्रतिपरिवार ११ हजार ३०० रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

राहत रकम ताप्लेजुङका सबै स्थानीय तहभित्रका चर्च तथा कोशी प्रदेश इसाई समितिको सहयोगमा सङ्कलन गरिएको समाजले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी दोभानका सदस्य गुरु प्रसाद पौडेल र जिल्ला ख्रीष्टियन समाजका अध्यक्ष खड्काको रोहबरमा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
गत असोज ८ गते मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । आगलागीबाट १६ परिवार प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट घर तथा धनसम्पत्ति गुमाएका परिवारलाई पुनःस्थापना र दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले विभिन्न निकाय तथा सङ्घसंस्थाले राहत उपलब्ध गराउँदै आएका छन् । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा सामाजिक अभियन्ताले समेत प्रभावित परिवारलाई सहयोग गरिरहेका छन् ।
दोभान बजारमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई आवास, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकता व्यवस्थापनमा समस्या परेको छ । विभिन्न क्षेत्रबाट प्राप्त राहतले प्रभावित परिवारलाई तत्कालीन आवश्यकताहरू पूरा गर्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया