कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो



ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । भदौको तेस्रो सातादेखि सुरु भएको यस वर्षको पर्यटकीय याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को घुन्सा पर्यटन जाँच चौकीका अनुसार यस याममा हालसम्म एक सयभन्दा बढी विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्र पुगेका छन् । पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार सोमबारसम्म १७० जना बाह्य पर्यटक आधार शिविर पुगेका छन् । केही पर्यटक भने घुन्सा क्षेत्रमा विश्राम गरिरहेका छन् ।

यसपटक फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन् । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो । उहाँका अनुसार पर्यटकको आगमनले स्थानीय पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।

कञ्चनजङ्घा क्षेत्रमा चैतदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म गरी वर्षमा दुई मुख्य पर्यटकीय याम सञ्चालन हुन्छन् । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको आगमनसमेत बढ्ने गरेको छ । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकको चापले घुन्सालगायत क्षेत्रका होटल तथा लज भरिने गरेका छन् ।

पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, ट्रेकिङ गाइड, भरिया तथा यातायात व्यवसायमा समेत चहलपहल बढेको छ । पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार पर्यटकको आवागमनले गाइड, भरिया र यातायात व्यवसायीलाई आम्दानीको अवसर सिर्जना गरेको छ । विदेशी पर्यटक लामो समय पदयात्रामा रहने भएकाले स्थानीय स्तरमा आवास तथा जनशक्तिको माग बढ्ने गरेको छ ।

समुद्री सतहबाट आठ हजार ५८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको उत्तरी र दक्षिणी आधार शिविरसम्म पुग्न पदयात्रा गर्नुपर्छ । उत्तरी आधार शिविर ओक्ताङ र दक्षिणी आधार शिविर पाङपेमा पुग्न घुन्सा तथा याम्फुदिन मार्ग प्रयोग गरिन्छ । हिमाली प्राकृतिक सौन्दर्य, जैविक विविधता र स्थानीय संस्कृति यस क्षेत्रका प्रमुख आकर्षण हुन् ।

यद्यपि, वर्षायाममा पहिरोका कारण पदमार्ग अवरुद्ध हुने र हिउँदमा हिमपातले यात्रा कठिन बनाउने गरेको घुन्साका होटल सञ्चालक कान्छा शेर्पाले बताउनुभयो । मौसमको अनिश्चिततासँगै सञ्चार, सुरक्षित आवास, प्राथमिक उपचार र आपत्कालीन उद्धार सेवा विस्तार गर्नु पर्यटन क्षेत्रका चुनौती हुन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय व्यवसायीले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार सुधारका काम गर्दै आएका छन् । होमस्टे, पदमार्ग, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्न सके पर्यटनबाट स्थानीय समुदायको आम्दानी र रोजगारी थप बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 4:28 pm

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय