ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइनसम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८३-८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत छ महिनाको ग्राफिक डिजाइन तालिम सञ्चालन गर्न लागेको हो ।
कार्यालयले असोज २६ गते सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकलाई आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको छ । तालिम जिल्ला सदरमुकाम फुङ्लिङमा सञ्चालन गरिने भए पनि तालिमको निश्चित मिति, स्थान र समयबारे पछि अर्को सूचना प्रकाशित गरी जानकारी गराइने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तालिममा २० जना सहभागी समावेश गरिनेछ । तालिमका लागि १५ देखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सहभागी हुनका लागि एसइई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
ग्राफिक डिजाइनसम्बन्धी सीप विकास गरी युवालाई व्यावसायिक दक्षता अभिवृद्धि गर्न तथा स्वरोजगारका अवसर सिर्जना गर्न तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया