ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङका ग्रामीण तथा दुर्गम क्षेत्रका २४ जना विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि २४ लाख ७२ हजार रुपियाँ छात्रवृत्ति पाएका छन् । जिल्लाको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकामा शिक्षा क्षेत्रमा काम गर्दै आएको सामथ्र्य फाउण्डेसनले शैक्षिक सत्र २०८३/८४ का लागि जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको हो ।
फाउण्डेसनले विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई दुईदेखि तीन वर्षे तथा पूर्ण कोर्ष अवधिका लागि छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । असोज २६ गते आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको फाउण्डेसनका वरिष्ठ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
छात्रवृत्ति प्राप्त गर्नेमा तीन वर्षे प्राविधिक धारतर्फ सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका निमिन तामावो लिम्बू र एन्जिला भट्टराई रहेका छन् । दुई वर्षे विज्ञान सङ्कायतर्फ सात जना तथा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायतर्फ १५ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन र प्राप्त रकम प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्ने सर्तसहित लिखित सम्झौता गरेका छन् । विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा थप सहयोग गर्ने योजना पनि फाउण्डेसनले बनाएको छ ।
फाउण्डेसनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई अध्ययनका क्रममा वा अध्ययन पूरा गरेपछि सम्बन्धित क्षेत्रका विद्यालय, सरकारी निकाय वा समुदायमा कम्तीमा दुई महिना स्वयंसेवा गर्न आग्रह गरेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको अवसर बढाउन आगामी दिनमा छात्रवृत्तिको कोटा थप गर्ने योजना रहेको पन्तले बताउनुभयो ।
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको पहिलो आरोहण दलका सदस्य जर्ज बैण्डको सम्झनामा यो छात्रवृत्ति स्थापना गरिएको हो । छात्रवृत्ति कार्यक्रमबाट हालसम्म १३० जना विद्यार्थी लाभान्वित भएका छन् । रीड नेपालले १३ वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रममार्फत एक करोड ६९ लाख छ हजार ५६ रुपियाँ बराबरको सहयोग स्थानीय विद्यार्थीलाई उपलब्ध गराइएको जनाइएको छ ।
भौगोलिक हिसाबले विकट क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले हिमालयन ट्रष्ट यूकेको आर्थिक सहयोग तथा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङ र सम्बन्धित गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सामथ्र्य फाउण्डेसनले छात्रवृत्तिका अतिरिक्त शिक्षक तालिम, शैक्षिक सामग्री सहयोग, विज्ञान प्रयोगशाला तथा पुस्तकालय व्यवस्थापन, खानेपानी र शौचालय निर्माण एवं विद्यालय भवन निर्माणका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
छात्रवृत्ति कार्यक्रमको समीक्षा गर्दा प्राविधिक धारमा दुईदेखि तीन वर्षे अध्ययन गरेका अधिकांश विद्यार्थी सरकारी सेवामा आबद्ध भएको पाइएको फाउण्डेसनले जनाएको छ । कार्यक्रमको सकारात्मक प्रभाव देखिएकाले जिल्लाका सरोकारवाला निकायले छात्रवृत्तिको कोटा थप गरी निरन्तरता दिन आग्रह गरेका छन् ।






प्रतिक्रिया