ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ । सडक स्तरोन्नतिपछि पनि यातायात व्यवसायीले पुरानै भाडा लिएको गुनासो आएपछि यातायात व्यवसायीसँग समन्वय गरी नयाँ भाडादर कायम गरिएको हो ।
यातायात व्यवसायीसँग गरेको समझदारीअनुसार मैवाखोलाका विभिन्न स्थानबाट धरान र फुङलिङ जाने यात्रुवाहक सवारीसाधनको भाडा दर समायोजन गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार समझदारीअनुसार मैवाखोला–३ साँघुबाट धरानसम्म बसको भाडा एक हजार दुई सय र जिप, बोलेरो तथा ट्याक्सीको भाडा एक हजार छ सय रुपियाँ कायम गरिएको छ ।
वडा नं. २ बाट धरानसम्म बसको एक हजार दुई सय ५० र जिपको एक हजार सात सय, वडा नं. १ तेत्तलाबुङबाट बसको एक हजार तीन सय र जिपको एक हजार आठ सय रुपियाँ तोकिएको छ ।
त्यस्तै वडा नं. ४ रिपाङबाट धरानसम्म बसको एक हजार दुई सय र जिपको एक हजार छ सय, वडा नं. ५ घोडेटारबाट बसको एक हजार तीन सय ५० र जिपको एक हजार नौ सय तथा वडा नं. ६ बाट बसको एक हजार तीन सय ५० र जिपको दुई हजार रुपियाँ भाडा निर्धारण गरिएको छ ।
यसैगरी मैवाखोलाबाट फुङलिङतर्फ पनि नयाँ भाडादर कायम गरिएको छ । वडा नं. ३ साँघुबाट फुङलिङसम्म सात सय ५०, वडा नं. २ बाट छ सय ५०, वडा नं. १ बाट पाँच सय ५०, वडा नं. ४ बाट आठ सय ५० र वडा नं. ५ को वडा कार्यालयबाट सात सय ५० रुपियाँ भाडा तोकिएको छ ।
गाउँपालिका अध्यक्ष वनेमले सडकको अवस्था सुधार भइसकेपछि पनि पुरानै भाडा लिइएको गुनासो आएपछि व्यवसायीसँग छलफल गरी सहमति गरिएको बताउनुभयो । उहाँले तोकिएको भाडादर कार्यान्वयन गर्न यातायात व्यवसायी र सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया