ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडित परिवारलाई राहत स्वरुप ७१ हजार ५०० रुपियाँ वितरण गरेको छ । गत असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंमा सङ्कलन गरिएको रकम प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा नेवा स् समाज काठमाडौंका महासचिव इन्द्रकुमार श्रेष्ठ, फुङलिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठ, नेपाल भाषा तथा सांस्कृतिक समाजका कोषाध्यक्ष भुवन श्रेष्ठ, सदस्य प्रकाश श्रेष्ठ तथा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता थियो ।
महासचिव श्रेष्ठका अनुसार आगलागीबाट प्रभावित १६ परिवारमध्ये दुई परिवारलाई प्रतिपरिवार सात हजार रुपियाँ, नौ परिवारलाई प्रतिपरिवार पाँच हजार रुपियाँ र अन्य पाँच परिवारलाई प्रतिपरिवार दुई हजार ५०० रुपियाँका दरले राहत रकम वितरण गरिएको हो । आगलागीबाट ठूलो क्षति व्यहोरेका परिवारलाई केही राहत पु¥याउने उद्देश्यले काठमाडौंमा रकम सङ्कलन गरी प्रभावित क्षेत्रमै पुगेर वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।
दोभान बजारमा भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने १६ परिवार प्रभावित भएका थिए । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् ।






प्रतिक्रिया