ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपियाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो ।
आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको सयङका अध्यक्ष लोकेश लिबाङले बताउनुभयो । उहाँका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यको योगदानबाट अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोत सामग्रीमा सहयोग गर्ने योजना रहेको सयङले जनाएको छ । अक्षयकोषलाई आगामी दिनमा थप विस्तार गर्दै योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मान गरिएको थियो । मिक्वाखोला गाउँपालिका–३ लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बूले ३.७० जीपीए, सोही स्थानका कमल कुमार लिम्बूले ३.५० जिपिए र चैनपुर, सङ्खुवासभाकी वर्षा लिम्बूले ३.४० जीपीए प्राप्त गर्नुभएको थियो । उहाँहरूलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ले जनही १० हजार रुपियाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गर्नुभयो ।
कार्यक्रममा बैरागी काइँलाले शैक्षिक अक्षयकोष, विद्यार्थी सम्मान र वेबसाइट विमोचनजस्ता कार्यले विद्यार्थीमा अध्ययन प्रतिको उत्साह बढाउन सहयोग पुग्ने बताउनुभयो ।
सोही अवसरमा सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो । वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि, शैक्षिक अभियान तथा भावी योजनालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको सयङले जनाएको छ । साथै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीलाई अभियानमा जोडिन सयङले आह्वान गरेको छ ।






प्रतिक्रिया