ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं सहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा पैदल यात्रा (वाकाथन) सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । यो सँगै सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी, उत्कृष्ट वाकाथनकर्ता तथा उमेर समूहतर्फ १८–३० बर्ष ३० देखि ४० बर्ष र ४०–४५ बर्ष उमेर समूहकाबिच प्रतिष्पर्धा गराइएको थियो । बिजेताहरूलाई पुरस्कार समेत बितरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य र स्फूर्त शरीर र स्थिर मनका लागि प्राकृतिक हरियाली भएको क्षेत्रमा वाकाथन गरी प्राकृतिक सुन्दरताको अवलोकन समेतलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख गौतमको भनाई छ । कार्यक्रममा नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, सशस्त्र प्रहरी वल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षकद्वय जटाशङ्कर यादव र आशिष पोखरेल, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, पत्रकार महासङ्घ ताप्लेजुङका पदाधिकारीहरू सहितको सहभागिता रहेको थियो ।






प्रतिक्रिया