ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मैवाखोला गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
खेलको ५२औँ मिनेटमा फुङलिङ नगरपालिकाका समीक्षा मगरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । यस्तै खेलको इन्जुरी समयमा फुङलिङ नगरपालिकाका समीक्षा मगरले नै दोस्रो गोल गर्दै टिमलाई २–० गोल अन्तरमा पुर्याउनुभएको हो । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै शनिबार भएको उद्घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
विहिबार सेमिफाइनलको दोस्रो खेलमा मेरिङ्देन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाबिच प्रतिस्पर्धा हुँदै छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश हो । यस्तै आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिहिबार विजयी हुने टिमले फाइनलमा फुङलिङ नगरपालिका सँग भेट पक्का गर्ने छ । प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।






प्रतिक्रिया