ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङ र नेपाली काँग्रेस मिक्कवाखोला गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मिक्कवाखोला ४ स्थित तेम्बा बजारमा गत मंसिर २ गते मध्यरात भएको आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो ।
आगलागी पीडित प्रत्येक परिवारलाई नगद ११ हजार ५०० रुपियाँको दरले आर्थिक सहयोग गरिएको नेपाली काङ्ग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभयो । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलामा सहभागी हुन तेम्बा बजार पुग्नुभएका सभापति सहित जिल्ला कार्यसमिति र मिक्कवाखोला गाउँपालिका समितिका अन्य पदाधिकारीहरूले आगलागी पीडितहरूलाई राहत स्वरुप जम्मा ६९ हजार रुपियाँ प्रदान गरेको हो ।
मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागीबाट भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ ।
उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।






प्रतिक्रिया