हेवा खोलाको ७० मिटर लामो बेलिब्रिज उद्‌घाटन



ताप्लेजुङ, भदौ ४ गते । पाँचथरमा निर्मित ७० मिटर लामो बेलिब्रिज उद्‌घाटन भएको छ। बेलिब्रिजको उद्‌घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा गर्नुभयो।

बाढीका कारण पटकपटक पुल बग्ने र भाँचिने समस्या पश्चात भारत सरकारको सहयोगमा बेलिब्रिज जडान गरिएको हो। पुलको पूर्वाधार निर्माण र जडान कार्य सङ्घीय सरकार मातहतको सडक डिभिजन इलाममार्फत भएको हो। 

पुल उद्‌घाटन गर्दै मन्त्री दाहालले विकासका चरणलाई बाढी पहिरो र प्राकृतिक विपदले धक्का दिने गरेको स्मरण गर्दै हेवामा दोहोरिएका विपदलाई एउटा उदाहरणका रुपमा लिन सकिने टिप्पणी गर्नुभयो।

‘भत्किएका संरचना पुनः निर्माण गर्नु पनि विकासको निरन्तरता हो, बाढी पहिरो र विपदबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणसँगै पीडितको पुनः स्थापना सरकारको प्राथमिकता हो’, मन्त्री दाहालले भन्नुभयो।

मन्त्री दाहालले हेवा खोलामा बेलिब्रिज जडान गर्ने क्रममा जेठ ३१ गते ज्यान गुमाएका तीन जना श्रमिकको परिवारलाई क्षतिपुर्ती र घाइते तीन जनालाई उपचार खर्च उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विपदमा परेको छिमेकीको हात समातेर उठाउने दायित्त्व छिमेकीकै रहेकाले नेपाल सरकारको अनुरोधलाई स्वीकार गर्दै ५० करोड बराबरका १० वटा पुल उपलब्ध गराएको जानकारी दिनुभयो। ‘भारत नेपालको असल छिमेकी हो, हामीले छिमेकीको धर्म निर्वाह गरेका हौं’, उहाँले भन्नुभयो। 

हेवा खोलाका लागि मोड्युल ब्रिज भारत सरकारले निःशुल्क उपलब्ध गराएको हो। पुल भारतबाट आएका २१ सहित नेपालका प्राविधिकले ११ दिन लगाएर जडान गरेका हुन्।

पुल जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाखमा ठेक्का लिएको थियो। 

पहिलो पटक हेवा खोलाको पक्की पुल २०८० साल असार–२ बाढीले बगाएको थियो। त्यसपछि बनेको बेलिब्रिज २०८१ असोज १२ गते बाढीले बगाएको थियो। पुनः जडान थालिएको अर्को बेलिब्रिज गत जेठ ३१ गते जडानको काम सम्पन्न नहुँदै भाँचिदा तीन जना श्रमिकको मृत्यु भएको थियो। दुर्घटनामा थप तीन जना घाइते भएका थिए। 

बेलिब्रिज उद्‌घाटन भएसँगै सवारी आवागमनका लागि अनुमति दिइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। पुल सञ्चालनमा आएपछि मेची राजमार्ग भएर झापा–इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म पुग्ने सवारी र ढुवानी सञ्चालन गर्न सहज हुनेछ। गोरखापत्र

प्रकाशित मिति : 5:55 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा