साहारा लिम्बू
ताप्लेजुङ, साउन २५ गते । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्यको प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो ।

आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्षक हुने गर्छ ।

सिंघी नृत्यका लागि भारतको सिक्किमबाट सात जना कलाकारहरू ल्याइएको लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । गोल्डकपको उद्घाटनमा सिंघी नृत्यसँगै च्याब्रुङ, लाखे, चण्डी, तामाङ सेलो लगायतका सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिए । तर, पहिलोपटक ताप्लेजुङमा प्रस्तुत सिंघी नृत्य उद्घाटन समारोहको मुख्य आकर्षक बन्यो ।

यससँगै उद्घाटन खेलमा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आज पोखरा र झापाबीच प्रतिष्पर्धा हुने भएको छ । क्वाटर फाइनल अन्तर्गत आजको दोश्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको हो ।

यस वर्षको प्रतियोगितामा विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १५० सिसीको यामाहा मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

प्रतिक्रिया