ताप्लेजुङ । फुङलिङ बजारका सुँगुर पालक कृषकले सुँगुरको खोर नहटाउने भएका छन् । आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कुनैपनि हालतमा सुँगुरको खोर नहटाउने दाबी गरेका हुन् ।
फुङलिङ नगरपालिकाले दोश्रो पटक सूचना जारी गर्दै बजार क्षेत्र भित्र र आसपासका क्षेत्रमा रहेका सुँगुरका खोरहरू हटाउन निर्देशन दिएसँगै सँगुर पालक कृषक आन्दोलित बनेका छन् । नगरपालिकाले पहिलो पटक असार २७ गते र दोश्रो पटक साउन १५ गते सूचना जारी गर्दै तत्काल खोरहरू हटाउन आग्रह गरेको थियो ।
यता स्थानीयले आफ्नो आम्दानीका प्रमुख श्रोत रहेकाले कुनैपनि हालतमा नहटाउने अडान लिएको कृषक दिलमाया मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आवश्यक छलफल, वार्तामा बोलाएर व्यवस्थापन गर्ने प्रयास नै नगरी आफ्नो व्यवसाय हटाउन निर्देशन दिएकाले आन्दोलन गर्नुपर्ने बाध्यताको सिर्जना भएको हो ।
बजार क्षेत्रमा करिब ५ सय जना भन्दा बढी स्थानीयले सुँगुर पालनबाट नै मनग्य आम्दानी गरिरहेकोले आफ्नो व्यवसायको सुनिश्चित गरि व्यवस्थापनमा लाग्न भने तयार रहेको बताएका छन् । तर नगरपालिकाले छलफल तथा समन्वय नगरी आफ्नो पेशाको अपहेलना गरेर आफुहरुमाथि अन्याय गर्न खोजेको आरोप सुँगुर पालक कृषकले लगाएका छन् ।
बजारक्षेत्रमा भएका सुँगुरका खोरहरुबाट मलेरिया, डेँङ्गु लगायतका रोगहरू तथा वातावरणमा दुर्गन्ध फैलिएकाले तत्काल खोरहरू हटाउन फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ ।
प्रतिक्रिया