ताप्लेजुङ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपलाई विशेष सहयोग गर्न नेपाल फुटबल सङ्घ (एन्फा) लाई आग्रह गर्नुभएको छ । एन्फाको कार्यालयमै पुगेर मन्त्री हाङ्गामले आगामी साउन २४ गतेदेखि फुङलिङको भानु जन माविको खेलमैदानमा सञ्चलन हुने गोल्डकपलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
विहीबार एन्फा कम्प्लेक्स सातदोबाटो पुग्नुभएका मन्त्री हाङगामले एन्फाका पदाधिकारीहरूलाई लाखेजात्राको अवसरमा हुने प्रतियोगितामा आउने दर्शक, फुटबल प्रतिको मोह र दुर्गमको खेल अवस्थाको विषयमा जानकारी गराउँदै सहयोगको आग्रह गर्नुभएको छ । यो अवसरमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी सहितका पदाधिकारीले मन्त्री हाङ्गामलाई सम्मान गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको उपाध्यक्ष समेत भइसक्नुभएका तथा फुटबलका खेलाडी मन्त्री हाङगामले फुटबलको क्रेज गाउँगाउँमा भएको तर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले गाउँका खेलाडी खोज्न र गाउँबाटै खेललाई उठाउन एन्फासँग आग्रह गर्नुभएको हाङ्गामको सचिवालयले जनाएको छ ।
जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचित ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण साउन २४ गते अर्थात् जनैपूर्णिमाको दिनदेखि सुरु गर्ने निर्णय भएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले सञ्चालन गर्दै आइरहेको गोल्डकप आगामी साउन २४ गतेदेखि सुरु भएर ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल हुने समितिका सचिव टिकेन नेपालीले जानकारी दिनुभयो ।
गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ ।
प्रतिक्रिया