रेडियो काबेली
ताप्लेजुङ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेयद्वारा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो ।
विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको झण्डै चार वर्षको अवधिमा मिति २०८१ साल असोज ३० गते भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै महालेखा नियन्त्रक डा. पाण्डेयले जनताको करको सहि सदुपयोग भएको छ भन्ने दिलाउने गरि काम गर्न आग्रह गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिती ताप्लेजुङका प्रमुख छिरिङ लामाले जिल्लामा कर कार्यालय नहुदा सेवाग्राहीले सास्ती खेपेकोले जिल्लामा अबिलम्ब कर कार्यालय खोल्न पहल गरिदिन महालेखा नियन्त्रकलाई आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल, सशस्त्र प्रहरी बल १ नं गुल्म हेड क्वाटर कञ्चनजङ्घाका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, उपमहालेखा नियन्त्रक निरज केसी र ओम प्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै विभिन्न कार्यालयका प्रमुख सङ्घ संस्थाहरूको प्रतिनिधि साथै पत्रकारहरूको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया