रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्षले आईतबार र सोमबार पुर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति गत १४ गते सोमबार विज्ञप्ती जारी गर्दै मेचिराज मार्ग तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ भित्रिने र बाहिरीने यातायातका साधन सञ्चालन गर्न १९ गतेसम्म रोक लागउने र सो दिनसम्म पनि माग पुरा नभए २० गतेदेखि ९ जिल्लामा यातायात बन्दको आह्वान गर्ने जनाएका थिए ।
सोही अनुसार आईतबारबाट ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लिम्बुवान क्षेत्र गरी ९ जिल्लामा यातायात बन्द हुने मुकुम्लुङ संयुक्त संघर्ष समितीका संयोजक खगेन्द्र फेम्बोले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रो मागको सम्बोधन नभएपछि आन्दोलनका कार्यक्रम निरन्तर रहन्छ । भोलीबाट पुर्वका ९ जिल्लामा यातायात बन्द हुन्छ । हामीले यस अघि नै घोषणा गरे अनुसारका कार्यक्रम हुँदै जान्छ ।”साथै उहाँले कोशी प्रदेश सरकारले वार्ता टोलीको निर्णय भएको छ भन्ने सुनेपनि आफुहरुलाई आधिकारिक जानकारी नआएको बताउनुभयो ।
“वार्ता टोली गठन भएको निर्णय आएको भन्ने सुन्नमा आयो । तर आधिकारिक रुपमा जानकारी नभईसकेपछि त्यसलाई आधिकारिक रुपमा लिन सकिएन । त्यसो भएको हुँदा सरकार अलिक गम्भिर नभएको हाम्रो बुझाई छ ।” उहाँले भन्नुभयो ।
आन्दोलनरत पक्ष भन्दा पनि यस विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा सबैभन्दा बढी सरकार नै गम्भिर हुनुपर्ने संयोजक फेम्बोको भनाई छ । २१ गते सम्म पनि माग पुरा नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने अन्तरदलीय संघर्ष समितिले विज्ञप्तीमा जनाएका छन् ।
केबलकार खारेज गर्नुपर्ने, गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिना सर्त रिहा गर्नुपर्ने, काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरी फिर्ता गरिनुपर्ने केबलकारवाला चन्द्र ढकालले गोली लागेका घाइतेहरूको आजिबन जिवन निर्वाहको व्यवस्था गर्नुपर्ने विज्ञप्तीमा माग गरिएको छ । त्यस्तै चन्द्र ढकालको ग्लोबल आइएमई बैंक माघ २० गतेदेखि बन्द गरिने समेत विज्ञप्तीमा जनाईएको छ ।
अन्तर्दलीय राजनितिक पार्टीहरुको तर्फबाट विज्ञप्तीमा राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अध्यक्ष कुमार लिङ्देन “मिराक”, पहिचानवादी मोर्चाको तर्फबाट संयोजक प्रा.डा.महेन्द्र लावतीले, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समितिको तर्फबाट मुख्य सचिव सञ्जय राईले, जसपा सम्वद्ध किरात राष्ट्रिय समितिको तर्फबाट अध्यक्ष रमेश राईले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेश नं. १ अध्यक्ष धन बहादुर पन्धाक, नेपाल जनमुक्ती पार्टीको तर्फबाट उपाध्यक्ष भक्त खेवाङ, मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट प्रदेश नं. १ अध्यक्ष नयन्द्र चाम्लिङले र किरात लिम्बूवान प्रदेश समितिको तर्फबाट अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गर्नुभएको छ । बन्दका कारण तिर्थयात्री सँगै सर्वसाधारणलाई भने समस्या भएको छ । गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए ।
प्रतिक्रिया