रेडियो कोबली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा) को ताप्लेजुङ जिल्लाको सभापतिमा ईन्जिनियर वीरेन्द्र श्रेष्ठलाई चयन गरेको छ । मंसिर २९ गते रास्वपा ताप्लेजुङको प्रथम जिल्ला भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । रास्वपाको गत असोज १ र २ गते सम्पन्न राष्ट्रिय भेलाले तय गरेको जिल्ला भेला साथै सोही राष्ट्रिय भेलाले परिमार्जन गरेको जिल्ला समितिको संख्या पुर्ती गर्ने उद्देश्य र जिल्लालाई दुरुस्त बनाउनका लागि ताप्लेजुङको प्रथम जिल्ला भेला सम्पन्न गरेको रास्वपाले जनाएको छ ।
जिल्ला भेला सम्पन्न गर्न केन्द्र र प्रदेशबाट प्रतिनिधि सभा सदस्य तथा रास्वपाले ताप्लेजुङको लागि तोकेको माननीय डा. तोसिमा कार्की, पार्टीका केन्द्रिय सह प्रबक्ता रमेश प्रसाईं, प्रदेश महामन्त्री लाल बिक्रम थापाको उपस्थितीमा जिल्ला भेला सम्पन्न भएको हो । भेलाले उपसभापतिमा दावा शेर्पा, सचिवमा नरेन्द्र कुमार पौडेल, सहसचिवमा लिलाप्रसाद पौडेललाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा निर्मला लाबुङ (खिम्दिङ), नयानाथ तिवारी, सरिता गुरुङ, खेमराज बराल, सुशिला कार्की (भुटिया), शान्ति सिवा, नुपु शेर्पा, दुर्गा प्रसाद थापालाई र क्षेत्रीय निर्वाचन समिति सभापतिमा हरि प्रसाद थापालाई चयन गरेको छ । जिल्ला भेलाको क्रममा तोक्मेडाँडाको फाल्गुनन्दको शालिक भएको स्थानबाट शान्तिपुर्ण ¥याली समेत निकालिएको थियो । उक्त ¥यालीमा साँचो सहकारी पिडितलाई – न्याय दे, राजनीतिक प्रतिशोध – बन्द गर, राष्ट्रिय स्वतन्त्र पार्टी – जिन्दावाद लगायतका नारा सहित बजार परिक्रमा गर्दै कार्यक्रम स्थल पुगी जिल्ला सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा ९२ बर्षिय जेष्ठ नागरिकको बाहुलीबाट दिप प्रज्वलन गरी समुदघाटन गरिएको थियो । रास्वपाका जिल्ला सम्योजक रहेका इ. वीरेन्द्र श्रेष्ठले ५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन वाचन गरि जिल्ला भेला समक्ष पेश गर्नुभएको थियो । उहाँको प्रतिवेदनमा हाल सम्मको रास्वपा ताप्लेजुङको गतिविधि, सक्रियता, ताप्लेजुङको बिकास र समृद्धिका बाटाहरु, भावी कार्ययोजनाहरु बिस्तृत रुपमा पेश भएको थियो ।
साथै उहाँले ताप्लेजुङका ६१ वटा वडाहरु मध्ये ९ वटा वडाहरुमा अन्य दलहरुको भन्दा सांगठनिक क्षमता बढेको जनाउनु भएको छ । १८ महिनाको अवधीमा ताप्लेजुङ रास्वपाको सदस्य संख्या अन्य हिमाली पहाडी जिल्लाको अनुपातमा उच्च रहेको जनाउनु भएको छ । रास्वपा ताप्लेजुङले बिकास र समृद्धिका बाटा तथा संभावनाहरुमा सम्बद्ध निकायहरु सँग खुलेर छलफल गर्ने श्रेष्ठले दर्शाउनु भएको छ । रास्वपाको मौज्दात राजनीतिको बिश्लेषण, नीति, बिचार र सांगठनिक प्रशिक्षण प्रदेश महामन्त्री लालबिक्रम थापा, माननीय तोसिमा कार्की, सहप्रबक्ता रमेश प्रसाईले गराउनु भएको थियो ।
प्रतिक्रिया