एलिना दियाली
ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । फुङलिङ नगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र करुणा फाउण्डेशन नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेशन नेपाल र स्थानीय सरकारको समान लागत साझेदारीमा ताप्लेजुङ जिल्लामा सञ्चालनमा रहेको छ । फुङलिङ नगरपालिका र करुणा फाउण्डेशन नेपाल बिच २०८१ साल आषाढ १२ गते सम्झौता भई कार्यक्रम सञ्चालित छ । सोही कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त संयुक्त कार्यक्रममा जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गताको न्यनिकरण एवं अपाङ्गता भएका व्यक्तिहरु सहितको समावेशी समाज निर्माण गर्नें लक्ष्य रहेको जनाईएको छ । त्यस्तै नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुन सक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र स्थानीय तहमा रहेका लक्षित समुहलाई सेवा प्रदान गर्ने सरकारी संरचनाहरुको सुदृढिकरण गर्ने लक्ष्य रहेको छ ।
उक्त कार्यक्रमको पहिलो र दोस्रो सञ्चालन वर्ष प्रदेश सरकार, करुणा फाउण्डेशन र स्थानीय तहले समान लागत बहन गर्ने र तेस्रो वर्ष प्रदेश सरकार र स्थानीय तहले ५०–५० प्रतिशत लागत साझेदारी गर्ने जसमा करुणा फाउण्डेशनले प्राविधिक सहयोग गर्ने बताईएको छ । जस अुनसार कार्यक्रम सञ्चालनको लागि कोशी प्रदेश सरकारको लागत साझेदारी २४ लाख ९३ हजार ३ सय ४२, करुणा फाउण्डेशनको २४ लाख ९३ हजार ३ सय ४२ र फुङलिङ नगरपालिकाको २४ लाख ९३ हजार ३ सय ४२ गरी कुल ७४ लाख ८० हजार २५ रुपैँया लागतको कार्यक्रम हुनेछ ।
यसै बिच राष्ट्रिय जनगणना २०७८ अनुसार फुङलिङ नगरपालिकामा कुल जनसंख्यामा ५२४ जना अपाङ्गता भएका व्यक्ति रहेकोमा नगरपालिकाको दर्ता किताबमा २२६ जना रहेको छ । जनगणना र नगरपालिकाको दर्ता किताबमा रहेको संख्यामा २९८ जनाको फरक रहेकोमा समुदायमा आधारित पुनःस्थापना सहजकर्ताले उनीहरुको खोजी तथा तथ्याङ्क संकलन गरिरहेको करुणा फाउण्डेशनका जिल्ला संयोजक केदार भण्डारीले जानकारी दिनुभयो ।
हालसम्म नगरपालिकामा रहेका ६८ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको रातो कार्ड, ११६ जनालाई निलो, ३१ जनालाई पहेँलो, र ११ जनालाई सेतो कार्ड वितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तरगत अपाङ्गता रोकथामका लागि नवविवाहित जोडीलाई शुभकामना कार्ड वितरण, जन्मदोष पहिचान तथा व्यवस्थापन जस अन्तरगत नर्सिङ कर्मचारीलाई तालिम, नवजात शिशुको परिक्षण, प्रेषण तथा उपचार सहयोग गरिनेछ ।
त्यस्तै बाल्यावस्थामा हुन सक्ने अपाङ्गताको पहिचान तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मी र शिक्षकलाई तालिम, २९ दिनदेखी ५ वर्ष मुनीका बालबालिकाको स्वास्थ्य परिक्षण, विद्यालयमा स्वास्थ्य परिक्षण, विकसित हुन सक्ने अपाङ्गता पहिचान तथा प्रेषण, उपचार सहयोग गरिनेछ । त्यस्तै गरि फोलिक एसिड चक्कि (भिटामिन बी ९) को पहुँचमा वृद्धि गर्न यस्को प्रयोगको आवश्यकता बारे सचेतना जगाउने, फोलिक एसिड चक्कि खरिदको सुनिश्चिता साथै दम्पती र गर्भवतीलाई फोलिक एसिड चक्किको वितरणमा नियमितता दिईनेछ ।
त्यस्तै समुदायमा आधारित क्रियाकलापहरुमा तथ्याङ्क अध्यावधिक तथा व्यवस्थापनतर्फ तथ्याङ्क संकलन तथा अभिलेखन, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरणको लागि स्वास्थ्य शिविर,अपाङ्गता भएका व्यक्तिको प्रोफाईल तयारी तथा अध्यावधिक गरिनेछ । स्वास्थ्यतर्फ स्वास्थ्य अवस्थाको पहिचान, स्वास्थ्य उपचारमा सहयोग, सहायक सामाग्री सहयोग, हेरचाह गर्ने व्यक्तिलाई तालिम, प्रारम्भिक फिजियोथेरापी सेवा, स्वास्थ्य बिमामा पहुँच वृद्धिको लागी काम हुनेछ । शिक्षातर्फ विद्यालय भर्ना, छात्रवृतिमा पहुँच अभिवृद्धि, विद्यायलमा पुग्न नसक्नेहरुको लागि घरमा आधारित शिक्षा र समावेशी शिक्षा प्रदान गरिने जनाईएको छ ।
जिवीकोपार्जनतर्फ व्यवसायिक तथा सीपमुलक तालिम, बीउ पुँजी र बचत परिचालन, उद्यमशीलता प्रवद्र्धन, सामाजिक सुरक्षा भत्तामा पहुँच र रोजगारीमा पहुँच वृद्धिको काम हुनेछ । सामाजिकतर्फ दौँतरी शिक्षा, सामाजिक साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता, सामाजिक सचेतनाको कार्यक्रम हुनेछ भने सशक्तिकरणतर्फ अपाङ्गता भएका व्यक्तिहरुको संस्था (ओ.पि.डी.) र मिलीजुलि समुह गठन तथा परिचालन, ओ.पि.डीको संस्थागत विकास, परिचय पत्रमा पहुँच, संस्थागत संरचनामा सहभागिता र क्षमता विकास तालिम हुनेछ ।
सेवा प्रदायक संरचनाहरुको सुदृढिकरण सम्बन्धी क्रियाकलापहरु अन्तरगत क्षमता विकास तालिम र यसअन्तरगत स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयसेविकालाई तालिम, शिक्षक तथा व्यवस्थापन समितीलाई तालिम, ओ.पि.डी तथा मिलीजुलि समुहलाई तालिम प्रदान गरिनेछ । व्यवस्थापनतर्फ समुदायमा आधारित पुनःस्थापना (सि.वि.आर.)सहजकर्ता तथा अपाङ्गता सहायता सहजकर्ताको नियुक्ति तथा परिचालन, सबैका लागि पहुँचयुक्त भौतिक संरचनाका लागि पैरवी, उपलब्ध तथ्याङ्कको अद्यावधिक, विश्लेषण र प्रयोगको कार्य हुनेछ ।
साथै अुनगमन तथा मुल्याङ्कन अन्तरगत सुपरिवेक्षण, नियमित (एकल एवं संयुक्त) अनुगमन, आवधिक तथा वार्षिक समिक्षा साथै अन्तराष्ट्रियस्तरका संस्थाबाट मुल्याङ्कन गरिने जनाईएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पुर्वमन्त्री एवं कोशी प्रदेश सभा सदस्य तिल कुमार मेन्याङ्बोले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्ति जन्मिने एवं अपाङ्ग हुने क्रम रहि रहने हुनाले उनीहरुलाई निशुल्क शिक्षा साथै उनीहरुको जिविकोपार्जन हुने किसिमका कार्यक्रम सञ्चालन गर्न साझेदार निकायलाई आग्रह गर्नुभयो ।
त्यस्तै पुर्वमन्त्री एवं प्रदेश सभा सदस्य निर्मला तावाले कार्यक्रम राम्रो भएकोमा प्रशंसा व्यक्त गर्दै तालिम भन्दा पनि उक्त तालिम पछिको परिणामको पनि मुल्याङ्कन गर्न आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै फुङलिङ नगर उप–प्रमुख भिमा देवी ओझाले हाम्रा वरपर भएका अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सेवा सुविधा पाएका छन् वा छैनन् खबर गर्न सहभागि सबैलाई आग्रह गर्नुभयो ।
करुणा फाउण्डेशन के हो ?
२०७२ सालमा स्थापना भएको करुणा फाउण्डेशन सामाजिक संस्थाको रुपमा कार्यरत गैर सरकारी संस्था हो । केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं रहेको संस्थाको प्रदेश कार्यालय ईटहरी सुनसरीमा रहेको छ भने उदयपुरमा उदयपुर सहित ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको लागि संयुक्त जिल्ला कार्यालय रहेको छ । पाँचथर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा र भोजपुरमा जिल्ला कार्यालय रहेको छ भने ताप्लेजुङलाई पाँचथरको कार्यालयले हेरि रहेको करुणा फाउण्डेशन ताप्लेजुङका संयोजक केदार भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार फाउण्डेशनले यस अघि कोशी प्रदेशका ७८ स्थानीय तहहरुमा प्राप्त उपलब्धी र सिकाईका आधारमा अन्य स्थानीय तहमा विस्तार गर्दै लगेको हो । जस अनुसार आर्थिक वर्ष २०८०÷८१ मा उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका ३४ स्थानीय तहमा कार्यक्रम गरेको थियो । “हामी आफै गर्न सक्षम छौँ” भन्ने मान्यताका साथ अघि सारिएको कार्यक्रम चालु आर्थिक वर्ष २०८१÷८२ मा ताप्लेजुङ, तेह्रथुम र झापाका ३० स्थानीय तहमा भई रहेको फाउण्डेशनले जनाएको छ ।
अपाङ्गता के हो ?
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार “अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रिय सम्बन्धी दीर्घकालिन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ ।”
नगरपालिकामा अपाङ्गमैत्री भवन बन्ने
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अपाङ्गमैत्री भवन बन्ने भएको छ । आईतबार अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख अमिर मादेनले नगरपालिकामा अपाङ्गमैत्री भवन बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“नगरपालिकामा एउटा अपाङ्गमैत्री भवन बनाउने र उक्त भवनमा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनका लागि सिपमुलक तालिम सञ्चालन गर्ने योजना रहेको छ । हामी चाँडै यो काम गर्ने छौँ ।”
प्रतिक्रिया