ताप्लेजुङमा तिन दिन मै बाढी र पहिरोले ५ जनाको ज्यान गयो, जिल्लाका ४१ वडा पहिरोको उच्च जोखिममा




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ । जेठ ३० गतेदेखी ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि ५ जनाले ज्यान गुमाई सकेका छन् । पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजङ्घा गाउँपालिका वडा नंं. ७ खेबाङमा निर्माणाधिन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो । पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षिय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो ।

त्यस्तै बिहिबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका वडा नंं.–२ खेजेनिमका एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो ।

वडा नं. २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूलको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । बिहिबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताउनुभयो ।


उहाँका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिनुभयो ।

बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ । वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो ।


यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ । पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।


त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका वडा नं. ४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने )को घरमा माथीबाट आएको पहिरोले घरमा पुर्ण क्षती भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पुर्ण क्षति, भान्सा घरमा पुर्ण क्षति साथै १४÷१५ रोपनी मकै जग्गामा क्षति भएको छ ।


जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अुनसार जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षती भएको छ । यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तिन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो । ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।


ताप्लेजुङका ४१ वडा पहिरोको उच्च जोखिममा
ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये ४१ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितीले जनाएको छ । समितीले बुलेटीन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ । जस अनुसार जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा र १८ वडा जोखिममा रहेको बताइएको छ।

जिल्लाको फुङलिङ नगरपालिकाको वडा नं. १, ६, ९, ८, १० र ११ उच्च जोखिममा रहका छन् भने सिरिजङ्घा गाउँपालिकाको वडा नं. १, ५, ६, ७ र ८, सिदिङ्वा गाउँपालिकाको वडा नंं. १, २, ३, ५, ६ र ७ पनि उच्च जोखिमा रहेको बताईएको छ । त्यस्तै पाथीभरा याङवरक गाउँपालिकाको वडा नंं. १, ३, ५ र ६, फक्ताङलुङ गाउँपालिकाको ७ वटै वटा, मिक्वाखोला गाउँपालिकाको १,२, ३ र ४, मेरिङदेन गाउँपालिकाको वडा नं. १, २ र ४, मैवाखोला गाउँपालिकाको वडा नं. २, ३, र ४, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. १, २ र ५ नम्बर वडा उच्च जोखिममा रहेको बताईएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं. ३, ४ र ७, सिरिजङ्घा गाउँपालिकाको वडा नं. २, ३, र ४, सिदिङ्वा गाउँपालिकाको वडा नंं.४, पाथीभरा याङवरक गाउँपालिकाको वडा नंं. २ र ४ पहिरोको मध्यम जोखिमा रहेको जनाईएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नंं ५, मेरिङदेन गाउँपालिकाको वडा नं. ३, ६ र ५, मैवाखोला गाउँपालिकाको वडा नं. १, ५ र ६ साथै आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ पहिरोको मध्यम जोखिममा रहेको जनाईएको छ । फुङलिङ नगरपालिकाको वडा नं. २ र ५ गरि दुई वटा वडा मात्रै पहिरोको न्युन जोखिम रहेको बताईएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०३:०१

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ

रेडियो कोबलीताप्लेजुङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा