सरकारबाट बाहिरिने एकीकृत समाजवादीको चेतावनी



सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबिच खटपट भएको छ । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।

सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एकरएक सिट दाबी गरेका थिए । तर नपाएपछि जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा जपाले मधेसमा रामशंकर महासेठ र लुम्बिनीमा बालगोविन्द चौधरी थारुलाई उठाएको छ । ती प्रदेशबाहेक अन्य प्रदेशमा गठबन्धनका उम्मेदवारलाई नै सघाउने निर्णय गरेको छ । पुस २९ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत सहभागी भएन । उक्त बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । अपिलमा जनमतबाहेकका दलको मात्र हस्ताक्षर रहेको छ ।

उसो त सरकार सञ्चालन र सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादीभित्र पनि व्यापक असन्तुष्टि देखिएको छ । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकमा गठबन्धनको संस्कृति विपरित कांग्रेस र माओवादीले सरकार सञ्चालन र सिट बाँडफाँटमा एकलौटी गरेको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ ।

यस्तै अवस्था कायमै रहे सरकारबाट बाहिरिनुपर्ने केही नेताहरूले धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले गठबन्धनमा बस्न निकै अप्ठ्यारो भएको रातोपाटीलाई बताए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, खनालले भने । आफूहरूको मतबाट मोटाएका कांग्रेस–माओवादीले अहिले पार्टीमाथि नै प्रभुत्व जमाएको उनले आरोप लगाएका छन् ।

राष्ट्रिय सभामा एकीकृत समाजवादीले ३ सिट दाबी गरेपनि साबिक २ सिट पाएको थियो । यसअघि स्वतन्त्र जितेको सिट खोसिएको थियो । यस्तै राष्ट्रिय सभामा दुई सिट दाबी गरेको जसपा मधेसमा साबिक एक पाएकोमा सन्तुष्ट छैन । यद्यपि आफूहरू गठबन्धनलाई थप बलियो बनाएर जाने पक्षमा रहेको नेताहरू बताएका छन् । तर सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको उसले निष्कर्ष निकालेको छ ।

बुधबार, बिहीबार र शुक्रबार राजधानीमा बसेको राजनीति समिति र केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रतिवेदन पेस गरेका थिए । यद्यपि श्रेष्ठले जसपा सत्ता गठबन्धनलाई अझै बलियो बनाएर जाने पक्षमा रहेको बताए । ‘राष्ट्रिय सभामा हामीले दुई सिट दाबी गरेको हो । दाबी अनुसार सिट पाएनौँ । साबिक एक सिटमा चित्त बुझाएर भएपनि गठबन्धनका सबै उम्मेदवारलाई जिताउने पक्षमा उभिएका छौँ’, उनले भने, ‘सत्ता टिकाउन प्रधानमन्त्री केन्द्रित हुनुपरेकोले अपेक्षा अनुसार काम हुन सकेको छैन । हामी गठबन्धनलाई थप बलियो बनाएर लैजाने पक्षमा छौँ ।’

यस्तै राष्ट्रिय सभामा एकरएक सिट दाबी गरेका लोसपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा आफ्नो दाबी रहेको बताएका छन् । ‘राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा पार्टीको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलजीलाई प्रस्ताव गरेका छौँ । राष्ट्रिय सभामा योग्य, अनुभवी र क्षमतावान व्यक्ति जानुपर्छ भन्नेमा हामीलाई अनुभव भएको छ’, केसीले भनेका थिए ।

यस्तै लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भागबण्डाप्रति असन्तुष्टि जनाएपनि गठबन्धनकै पक्षमा रहेको बताएका छन् । यद्यपि सातै प्रदेशमा साना दलहरूले निर्वाचन प्रक्रियामा असहयोग गरेपनि गठबन्धनका उम्मेदवारलाई कुनै असर पर्ने देखिँदैन । कांग्रेस–माओवादीको मतभार सातै प्रदेशमा बलियो रहेकाले केही फरक पर्ने स्थिति छैन ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०१:१५

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि

वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 

ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ

भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने

ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको

पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 

ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि