५० दिनदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने शून्य



ताप्लेजुङ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुस्ताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० दिन यता अतिरिक्त अर्थात् बुस्टर डोज खोप लगाउनेको सङ्ख्या शून्य छ । गत भदौ २८ गतेसम्म ७९ लाख ७२ लाख ७९१ जनाले बुस्टर मात्रा खोप लगाएकोमा त्यस यता बुस्टर डोज लगाउनेको सङ्ख्या शून्य रहेको हो । कार्तिक ९ देखि १५ गतेसम्म पहिलो र दोस्रो मात्रा खोप लगाउने दर पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १ गते ७० हजार ९९४ मात्रा कोरोनाविरुद्धको खोप दिइएको थियो । यस्तै २ गते २१ हजार ४२५ ले खोप लगाउँदा ३ गते १५ हजार ३५९ जनाले लगाएका थिए । यसै गरी ४ गते ३५ हजार १९४ ले, ५ गते २३ हजार ६०७ ले ,६ गते ८ सय ४० ले, ७ गते २४ हजार ३३१ र कात्तिक ८ गते ८ हजार ३४९ जनाले खोप लगाएका थिए ।

परिवार कल्याण महाशाखा निर्देशक डा। विवेककुमार लालले कोरोनाविरुद्धको खोप कार्यक्रम निरन्तर सञ्चालन भएको जिकिर गरे । खोप कार्यक्रम दसैँ, तिहार, छठ पर्वका कारण केही सुस्ताएको उनको भनाइ छ ।

निर्देशक डा। लालका अनुसार कोरोनाविरुद्धको खोप अभियान निरन्तर सञ्चालन भए पनि रिपोर्टिङ निरन्तर नभएका कारण मन्त्रालयले तथ्याङ्क अद्यावधिक गर्न नसकेको हो । ‘स्थानीय तहहरूले खोप लगाइएको तथ्याङ्क कम्पाइल गरी पठाएपछि मात्रै खोपको विवरण थाहा हुन्छ,’ उनले भने, ‘विवरण आउन बाँकी रहेका स्थानीय तहलाई फलो गरिरहेका छौँ ।’

यस्तै, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अधिकृत भरत भण्डारी पनि कोरोनाविरुद्धको खोप अभियान निरन्तर चलिरहेको जिकिर गर्छन् । पहिलो÷दोस्रो मात्रा ठुलो सङ्ख्याले लगाएकाले बुस्टर डोज अभियानलाई तीव्रता दिइने उनले बताए । खोप कार्यक्रमलाई तीव्रता कसरी दिने, बुस्टर डोज लगाउनेको सङ्ख्या कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

नेपालमा ०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म कुल जनसङ्ख्याको ७९।५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप ७६।५ प्रतिशतले लगाएका छन् । नेपालमा ५ वर्षमाथिको जनसङ्ख्या दुई करोड ३३ लाख २७ हजार ६१९ छ । जसमध्ये ९९।५ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने ९५।७ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म ५ करोड ३५ लाख ६ हजार २०७ मात्रा खोप लगाइएको छ । जसमा एक मात्रा दुई करोड ३२ लाख ८ हजार ४८३ ले लगाएका छन् । पूर्ण मात्रा खोप दुई करोड २३ लाख २४ हजार ९३३ जनाले लगाएका छन् ।

अनुदान र खरिद गरी नेपालले ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप प्राप्त गरेको छ । जसमा ५ करोड ३५ लाख ६ हजार २०७ मात्रा खोप लगाइसकिएको छ । यस्तै, २४ लाख मात्रा खोप सरकारको रेकर्डमा छैन ।

अब खोप खेर जाने क्रम बढ्छ

नेपालमा कोरोनाविरुद्धको खोप लगाउने दर कम हुँदा खेर जाने क्रम बढ्ने परिवार कल्याण महाशाखाका निर्देशक डा। लाल सुनाउँछन् । कोरोनाविरुद्धको खोप पनि नियमित खोपजत्तिकै खेर जान सक्ने उनको अनुमान छ ।

उनले भने, ‘धेरै जनाले खोप लगाइसक्नु भएको छ, १० मात्रा भएको भायल खोलेर एकदुई जनालाई एक दुई मात्रा खोप दिँदा ६÷७ मात्रा खोप खेर जान्छ, खोप प्रयोगका लागि खोलिएको भायल २४ घण्टा भित्र पूरै प्रयोग नभएमा खेर जान्छ ।’

खोप लगाउनेको सङ्ख्या कम भएसँगै कोरोनाविरुद्धको खोप खेर जाने दर बढ्न सक्ने उनको भनाइ छ । अहिलेसम्म एक प्रतिशतमात्रै खोप खेर गएको तर अब क्रमशः यो दर बढ्दै जाने उनको अनुमान छ ।

म्याद गुज्रिएको तीन महिनासम्म पनि खोप सुरक्षित रहने

निर्देशक विवेककुमार लालले कोरोनाविरुद्धको खोपहरुको म्याद गुज्रिएको तीन महिनासम्म प्रयोग गर्न मिल्ने बताए । फाइजर, मोडर्ना खोपलाई सही तरिकाले भण्डारण गरेमा जोगाउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘फाइजर, मोडर्ना खोप अल्ट्रा लोडेडबाट निकालेको १० हप्तासम्म प्रयोग गरिसक्नुपर्छ । अल्ट्रा लोडेड फ्रिजहरु केन्द्रमा मात्रै छ । स्थानीय तहको मागअनुसार केन्द्रले खोप पठाइदिन्छ । समयमा खोप अभियान सञ्चालन भएन भने डेट एक्सपाएर हुन्छ । खोपहरुको म्याद पनि सकिने क्रममा छ ।’

यद्यपि साप्ताहिक रुपमा हुने डब्ल्यूएचओ, युनिसेफ, गाभी र नेपाल सरकारको बैठकमा विश्व स्वास्थ्य संगठनले अल्टा लोडेड फ्रिजमा राखिएको फाइजर, मोडर्ना खोप म्याद सकिएको मितिपछि पनि थप तीन महिनासम्म प्रयोग गर्न सकिने जानकारी दिएको उनको भनाइ छ ।

डा। लालका अनुसार थप तीन महिना खोपको म्याद रहे पनि फ्रिजबाट प्रयोगका लागि निकालेर पूरै प्रयोग नहुँदा त्यस्ता खोप खेर जाने हुन्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०७:४३

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित